वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

काठमाडौँ– वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको छ ।
अस्पतालका निर्देशक डा दिलीप शर्माले विरामीको चापलाई ध्यानमा राखेर २५ वटा आकस्मिक कक्ष विस्तार गरिएको जानकारी दिनुभयो । यसअघि तीस आकस्मिक कक्षबाट अस्पताल सञ्चालनमा थियो ।
“अस्पतालमा एउटै कक्षमा दुई दुई बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता थियो,” उहाँले भन्नुभयो, “बिरामीको उपचारलाई ध्यान दिएर हामीले आकस्मिक कक्ष थप गरेका हौँ । अझै २० आकस्मिक कक्ष चाँडै नै विस्तार हुने छ ।”
उक्त आकस्मिक कक्षमा बिरामीका कुरुवालाई खाना पकाउने व्यवस्था समेत गरिएको छ । अस्पतालका निर्देशक डा शर्माका अनुसार उक्त आकस्मिक कक्ष स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अस्पतालको आन्तरिक स्रोतबाट रु सात करोडको लागतमा निर्माण गरिएको हो ।
अस्पतालमा अहिले दैनिक तीन हजारभन्दा बढी बिरामी उपचार गर्न आउने गरेका छन् । यस्तै अस्पतालमा दैनिक ७० देखि ८० साना ठूला शल्यक्रिया गर्ने गरिएको छ । अस्पतालमा हाल ८५० शय्या र ११० सघन उपचार कक्ष (आइसियु) रहेका छन् ।






प्रतिक्रिया राख्नुहोस्