आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायरमा टेष्ट मान्यता प्राप्त जिम्बावेविरुद्ध नेपालको जित

काठमाडौँ- आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायरमा नेपालले टेष्ट मान्यता प्राप्त जिम्वावेलाई हराउँदा पहिलो जित निकालेको छ ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १३० रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव ३ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । उपकप्तान पूजा महतोले नटआउट ५२ रन बनाइन् ।
नेपालले आज समूह चरणको आफ्नो तेस्रो खेलमा जिम्बाब्वेलाई पराजित गरेसँगै सुपर सिक्स पुग्ने सम्भावना जीवित राखेको छ। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो । नेपालकालागि रिया शर्माले २ तथा कविता कुँवर, पुजा महतो, सिता राना मगर र रुबिना क्षेत्रीले १-१ विकेट लिए ।
दुई खेलमा हार र एकमा जित निकालेको नेपालले अंक तालिकामा खाता खोल्दै २ अंक जोडेको छ । अब बाँकी १ खेल जितेमा र समूहका अन्य टोलीको नतिजा अनुकुल भएमा मात्र नेपाल अर्को चरणमा प्रवेश गर्नेछ ।
लगातार चौथो खेलमा हार भोगेसँगै जिम्बाबे समूह चरणबाट अंकविहिन रुपमा बाहिरिएको छ । नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले तथा अर्को खेलमा नेदरल्यान्डससँग २ रनले पराजित भएको थियो। ग्लोबल क्वालिफायरको समूह बी रहेको नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि माघ १२ गते स्कटल्याण्डसँग खेल्नेछ । सुपर सिक्समा शीर्ष ४ मा रहने टोली विश्वकपमा छनोट हुनेछन् ।






प्रतिक्रिया राख्नुहोस्