धादिङमा काँडेभ्याकुरको संरक्षण अभियान सुरु

धादिङ- डिभिजन वन कार्यालय धादिङले काँडेभ्याकुर पाइने धादिङको सिद्धलेक गाउँपालिकामा रहेको सामुदायिक वनका उपभोक्तालाई काँडेभ्याकुरको महत्वका बारेमा जानकारी गाराई संक्षरण गर्ने अभियान सुरु गरेको छ ।
पर्यावरण जोगाउँदै नेपालमा मात्र पाइने काँडेभ्याकुरलाई धादिङको पहिचान बनाउने उदेश्यका साथ बाग्मती प्रदेश सरकारको सहकार्यमा सो कार्यक्रम थालिएको हो।
बाग्मती प्रदेश सरकारमार्फत डिभिजन वन कार्यालय धादिङले स्थानीय तहसँगको सहकार्यमा अहिले सामुदायिक वन उपभोक्तहरुलाई सचेतना अभियान सुरु गरेको छ ।
सिद्धलेक गाउँपालिकाको वडा नम्वर २ बाट अभियान सुरु भएको हो ।
काँडे भ्याकुर १२ सय मिटरभन्दा माथिको भूभागका जंगलहरुमा बस्ने गर्छ । नेपालमा मात्र पाइने यो चरा विशेषगरी धादिङको सिद्धलेकको नलाङ क्षेत्रमा धेरै भेटिने गरे पछि त्यसको संरक्षण सुरु गरिएको धादिङका डिभिजन वन अधिकृत रोशना पोखरेलले बताउनु भयो ।यसका साथै काठमाडौँ, ललितपुर साथै चितवन र तनहुँमा पनि यो चरा फेला परेको पोखरेलले बताउनुभयो ।
धादिङको सिद्धलेकमा रहेको ढेवाडाँडा सामुदायिक वनमा काँडेभ्याकुर प्रशस्त पाइने गरेको स्थानीय सोमबहादुर मगरले सुनाउनुभयो ।
हुलमा आउने गरेको यो चराको महत्व थाहा नहुँदा विगतमा यसको शिकार गर्ने गरिएको स्थानीय सम्झन्छन ।
पछिल्लो समयमा यो चराको महत्व बुझेर यसको संरक्षणमा लागेको वडा अध्यक्ष शम्भु गरुङ्गको भनाइ छ ।
चरा संरक्षणसँगै यहाँको जैविक विविधता र वाताबरण संरक्षणमा निकै ठुलो सहयोग पुग्ने संरक्षण अभियानमा लागेका स्थानीय शिव सिलवालको भनाइ छ ।
यसले पर्या-पर्यटनको विकासमा समेत टेवा पुग्ने सिलवालको बुझाइ छ ।।






प्रतिक्रिया राख्नुहोस्