प्रदर्शनरत कुन चलचित्रको कति कमाई ?

काठमाडौँ- चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’ले प्रदर्शनरत नेपाली चलचित्रको गएको फागुन २ गते शनिबारसम्मको कारोबारसम्बन्धी विवरण आज सार्वजनिक गरेको हो ।

गत माघ १६ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘आ बाट आमा’ ले चार करोड ८० लाख ९० हजार ४८७ रुपैयाँ कमाई गरेको छ । मनोरञ्जनसँगै देश परिवर्तनको विषयलाई उठान गरेको उक्त चलचित्रका लागि कुल एक लाख ७६ हजार ५५२ टिकट बिक्री भएका छन् । उक्त चलचित्रको कथा अधिकांश नेपालीको जीवनसँग जोडिएको अभिनेता पल शाहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले आफ्नो भूमिकाका विषयमा धेरै खुलाउन मिल्दैन किनकि त्यसले कथा बाहिरिने डर हुन्छ । तर, चलचित्रमा मैले चाहेको जस्तो भूमिका निर्वाह गर्ने मौका पाएको छु, त्यसैले मैले सक्दो मेहनत गरेको छु । यो चलचित्रको कथा हाम्रो परिवार र गाउँ समाजकै हो । चलचित्र हेर्न गएका दर्शकले नै अन्यलाई हेर्न सिफारिस गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।”

उक्त चलचित्रमा अभिनेता शाहसँगै विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपालीलगायत कलाकारले अभिनय गर्नुभएको छ । चन्द्र पन्तले निर्देशन गर्नुभएको उक्त चलचित्रमा अभिमन्यु निरवीले संवाद लेखन, गम्भीर विष्टले नृत्य निर्देशन र कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले सङ्गीत सिर्जना गर्नुभएको छ ।

गत माघ २३ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘कुमारी’ले ५६ लाख २११ रुपैयाँ कमाई गरेको छ । दिनेश राउतको निर्देशनमा तयार भएको उक्त चलचित्रका लागि कुल १७ हजार २५ टिकट बिक्री भएका छन् । अविशेक खड्का र आकृतिराज भण्डारीलगायतको अभिनय रहेको चलचित्रले अपेक्षाकृत व्यापार गर्न सकेन । जेनजी पुस्ताको प्रेम कथा भनिएको चलचित्रले दर्शक समीक्षा राम्रो पाउन नसक्दा त्यसको असर व्यापारमा परेको देखिएको छ ।

गत माघ २३ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘रमिताको पिरती’ ले १९ लाख ४३ हजार ५८८ रुपैयाँ कमाई गरेको छ । सुदीप्ता अधिकारीको निर्देशनमा तयार भएको उक्त चलचित्रका लागि कुल पाँच हजार ९३७ टिकट बिक्री भएका छन् । आना शर्मा, धिरज मगर, विनय श्रेष्ठ, समिर श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको उक्त चलचित्रले दर्शक समीक्षा राम्रो प्राप्त गरेता पनि व्यापार भने राम्रो गर्न सकेको छैन । गत माघ २३ गते प्रदर्शन भएका दुवै चलचित्रको व्यापार निकै न्यून भएको छ ।

चलचित्र विकास बोर्डले पछिल्लो केही महिनादेखि नेपालमा प्रदर्शन भएका स्वदेशी र विदेशी चलचित्रको व्यावसायिक विवरण सार्वजनिक हरेक सोमबार गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.