भूमि पूजापछि मात्रै खनजोत: तकसेरामा हलसारको परम्परा जीवितै

रुकुम पूर्व – रुकुम पूर्वमा हलसार अर्थात् भूमि पूजा गरेर विधिवत रूपमा खनजोत सुरु गरिएको छ।
भाषा, संस्कार, संस्कृति र प्राकृतिक विविधतामा एकताको प्रतीकका रूपमा रहेको मगर समुदायले प्रथाजन्य कानुन (नीति–नियम) भित्र रही वार्षिक कार्यतालिका दैनिक जनजीवनसँग जोडेर तयार गर्ने परम्परा राखेको पाइन्छ। विशेषगरी जल, जमिन र जंगलको पूजा गरेर मात्रै अन्य काम सुरु गर्ने चलन कायम छ।
मगर समुदायको बाहुल्यता रहेको तकसेरा गाउँमा यस वर्ष पनि हलसार पूजा सम्पन्न गरिएको हो। आफू बसेको भूमिको पूजा गर्नाले मातृभूमिप्रति श्रद्धा र आदर प्रकट हुने विश्वास गरिन्छ। हलसार पूजा गरेर खेतीपाती सुरु गर्दा बाली सप्रिने तथा दैवी एवं प्राकृतिक प्रकोपबाट जोगिने जनविश्वास रहेको छ।

मगर खाम भाषा बोलिने मगर गाउँमध्ये तकसेरामा मात्रै हलसार पूजा गर्ने विशिष्ट परम्परा रहेको पाइन्छ। हलसार खाम भाषी मगर समुदायको ऐतिहासिकतासँग जोडिएको छ। प्राचीन समयमा मगर जाति अन्य मानव समुदायझैं वन, जंगल तथा खानी क्षेत्रमा बसोबास गर्दथे। जीविकाका लागि प्रकृतिसँग जुध्दै र त्यसैमा निर्भर रहँदै उनीहरूको अधिकांश समय जंगलमै बित्थ्यो।
जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका–१०, तकसेराको तक गाउँमा हलसार पूजा गरेर मात्र अन्य काम सुरु गर्ने चलन आजसम्म कायम छ।
ऐतिहासिक प्रसंग
हलसारको इतिहासअनुसार तक गाउँमा बस्ती बसाल्ने घर्तीहरू पेल्माको तिमाझरबाट हलो र जुवा काँधमा बोकी, भेडाबाख्रा र गाईगोरुसहित पहराबाट निस्किएको उल्लेख छ। बुवा सिद्धि र आमा शिवाले सात भाइ छोरासहित तिमाझरबाट बसाइँ सरेको किंवदन्ती छ।
विशेष तान्त्रिक विधिबाट बस्ती बसाएपछि सात भाइमध्ये हुकाममा बस्नेले बुढा थर राखे भने तकमा बस्नेले घर सारेकाले घर्ती थर राखेको भनाइ घर्ती अगुवा बेदमान घर्ती मगरले बताउनुभयो। हुकामका बुढा र तकका घर्ती एउटै गोत्यार (देवपहरे) मानी एक–अर्कामा मान–सम्मान र नाता सम्बन्ध कायम राख्दै आएका छन्।

समयक्रममा खेतीपाती र पशुपालन विस्तार भयो। पछि अरू मानिस पनि बसोबास गर्न आए। तर समय सधैं एकनास नहुँदा विभिन्न उतार–चढाव आए। कथनअनुसार एक टुहुरो बालकको जन्मपछि उसका आमाबुवाको मृत्यु भयो र सम्पत्ति हडप्ने षड्यन्त्रका कारण उसलाई बाग्लुङको निसीतिर बेचिएको कथा प्रचलित छ।
निसीमा उसलाई संस्कारको परीक्षा लिइएपछि योग्य ठहर गरी राखिएको, पछि गाउँमा प्राकृतिक विपत्ति आएपछि सोही बालकलाई फर्काएर ल्याई पूजा गराउँदा गाउँको संकट टरेको विश्वास गरिन्छ। त्यसपछि उसैको हातबाट वर्षभरिका सामूहिक पूजा सञ्चालन गर्ने परम्परा सुरु भएको बताइन्छ।
हलसार विधि
वर्षभरि गरिने सामूहिक पूजामध्ये बल्कु (भूमि पूजा), मंसिरे पुन्नी बराहा, हलसार, चैते दशैं महामै पूजा र वैशाखे पुन्नी बराहा पूजा घर्तीहरूको हातबाट सञ्चालन हुँदै आएको छ।
हलसार अर्थात् हलो र भूमिको पूजा गरेर मात्रै खेतीपाती सुरु गर्ने चलन छ। गाउँलेहरूले आफूखुशी खनजोत गर्न पाउँदैनन्। वर्षमा करिब ३–४ महिना खनजोत बन्द गरिन्छ।

मंसिर महिनामा पूजा गर्न योग्य घर्ती युवामध्ये एक जनालाई जैँसीद्वारा ग्रहदशा हेरी छानिन्छ। मुख्य पत्ती, दशघरे, छघरे र छिनपट्टीका युवाले मात्रै हलसार लगाउन पाउँछन्। पहिले १६ देखि ४० वर्षसम्मका युवामध्ये छनोट गरिन्थ्यो भने अहिले माथिल्लो उमेरबाट तल्लोतर्फ छनोट गरिन्छ।
पूजाका लागि सबै सामग्री नयाँ प्रयोग गरिन्छ—हलो, जुवा, लठ्ठी, लुगा, भाले, जाँडरक्सी आदि। अघिल्लो दिन आरन पूजा गरी नयाँ फाली तयार गरिन्छ। पूजा गर्ने दिन बिहान पुजारीले मगरको पगरी, मौलिक पहिरन, कम्मरमा खुकुरी र काम्लो ओढी गोरुसहित पूजा स्थलतर्फ प्रस्थान गर्छन्।
नर्सिँ खोला पार गरी चेल्बाँको खेतमा विधिपूर्वक ध्वजा गाडी भूमि पूजा गरिन्छ। भाले बलि चढाई उत्तर दिशाबाट हलो जोतेर विशेष आकृतिमा जोताइ सम्पन्न गरिन्छ।
त्यस दिन प्रत्येक घरमा खेवार (तरुल, आलु) रोप्ने चलन छ। नारेको गोरुलाई घाँस खुवाइन्छ भने बलि दिएको भालेलाई पोलेर वर्षभरिको शुभ–अशुभको संकेत हेरिन्छ, जसलाई खाम भाषामा ‘स्यातरा चिउने’ भनिन्छ।
भूमि देवतासँग प्रार्थना गरी छ महिने छ्याङ चढाइन्छ। त्यसपछि कलेजोको सानो टुक्रा चाखेर पूजा सम्पन्न गरिन्छ। घर फर्केपछि पुनः सगुन गरिन्छ र गाउँलेलाई भोज खुवाइन्छ।

विवाहित चेलीबेटीले एक–एक धार्नी रक्सी ल्याउने चलन छ। पहिले गाउँपञ्चलाई ‘चापने’ (आधी भात, आधी ढिँडो) खुवाइन्थ्यो भने अहिले पूर्ण रूपमा भात खुवाइन्छ।
यसरी विधिवत रूपमा पूजा सम्पन्न भएको तीन दिनपछि मात्रै कटुवालद्वारा खनजोत खुला भएको सूचना दिइन्छ। त्यसपछि गाउँलेहरूले खेतीपाती सुरु गर्छन्।।






प्रतिक्रिया राख्नुहोस्