नवयुवा र आममतदातालाई पार्टीको सङ्कल्प बुझाउने गरी क्रियाशील हुन कांग्रेस सभापतिको आग्रह
लुम्बिनी- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै मतदाताका कुरा सुन्न पार्टीका उम्मेदवार र कार्यकर्तालाई आग्रह गर्नुभएको छ । आज बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले विशेष गरी पार्टीका नेता कार्यकर्ताहरूसँग रिसाएका नवयुवाका कुरा गम्भीरतापूर्वक सुन्न आग्रह गर्नुभयो ।
सभापति थापाले भन्नुभयो, “नवयुवा रिसाएका छन्, उनीहरूसँग राम्रोसँग छलफल गर्नुस् । कांग्रेस विशेष महाधिवेशनबाट विगतका सबै राम्रा कुरालाई बोक्ने र खराब कुरालाई छोड्ने नयाँ सङ्कल्प गरेर आएको कुरा आममतदाता र नवयुवालाई बताउनुस् ।”
उहाँले पार्टीले पाँच वर्षभित्र परिणाम दिने सङ्कल्प मात्र होइन, एउटा प्रतिज्ञा गरेर आएकाले त्यसअनुसार देशलाई सम्हालेर अगाडि बढ्ने धारणा राख्नुभयो । सभापति थापाले देशभित्रका समस्या मात्रै नभई भूराजनीतिक संवेदनशीलतालाई पनि केन्द्रमा राखेर देशभित्र र बाहिर सबैलाई मिलाएर लैजान कांग्रेसको जित आवश्यक रहेको बताउनुभयो ।
“हामी अबको पाँच वर्ष खेर जान दिने छैनौँ । त्यसका लागि म असल बाँकी रहेका सबै खराब भन्ने मनोवृत्तिबाट बाहिर आउनुपर्छ । देशलाई फेरि अर्को द्वन्द्वमा लिएर जाने गरी कसैले पनि सोच्नु हुँदैन । त्यस्तो सोचबारे सजग हुनुपर्छ”, उहाँले भन्नुभयो । सभापति थापाले कांग्रेसले प्रतिज्ञापत्रमा लेखिएका विषयमा काम गर्न संविधान संशोधन आवश्यक रहेको र त्यसका लागि सबैको सहमति लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“संविधान संशोधन गर्न प्रतिनिधिसभा मात्र भएर हुँदैन, राष्ट्रियसभा पनि चाहिन्छ”, उहाँले भन्नुभयो, “त्यो संविधान संशोधन गर्न एमाले, माओवादी, रास्वपा, अन्य नयाँ पार्टी सबैको सहमति चाहिन्छ, अनि म एक्लै चलाउँछु, एक्लै गर्छुभन्दा देश दुर्घटनामा जानसक्छ । एक्लै गर्न सकिन्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ ।” कांग्रेसले रूपन्देहीका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको उपस्थितिमा बुटवलमा चुनावीसभा आयोजना गरेको हो । सभामा पार्टी उपसभापति पुष्पा भुसालसँगै कांग्रेस नेता बालकृष्ण खाँणलगायत नेता पनि उपस्थिति हुनुहुन्थ्यो ।






प्रतिक्रिया राख्नुहोस्