ढुक्क भएर मतदान गर्नुहोस्, सुरक्षा हाम्रो जिम्मेवारी हो: डीआईजी थपलिया

मधेश प्रदेश – राजनीतिक दलले मधेशलाइ चुनावी नतिजाको मुख्य केन्द्रमा राखेर रणनीति अघि बढाइरहँदा कुल ८ जिल्ला र ३२ निर्वाचन क्षेत्र रहेको यस  प्रदेशले चुनावी परिणाम कस्तो देला ? आम जनचासोको विषय बनेको छ ।

कुल मतदाता ३६,३६,४१४ मतादाता रहेको यस प्रदेशमा १६ लाख ६३ हजार ३७४ महिला र १९ लाख ७२ हजार ९६४ महिला मतदाता रहेका छन् । ७६ जना अन्य रहेका छन् ।  कुल  १ हजार ४२ उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा रहनु भएको छ ।

यस  प्रदेशमा ४ हजार ४ सय ७९ मतदान केन्द्र र २ हजार १६० मतदान स्थल कायम गरिएको छ। धेरै मतदाता र मतदान स्थल रहेको  साथै छिमेकी राष्ट्र भारतसँग सीमा जोडियो मधेस प्रदेशको निर्वाचन सुरक्षा ब्यवस्थाप आफैमा महत्वपूर्ण मानिन्छ ।

निर्वाचनलाई   शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष वातावरणमा  सम्पन्न गराउन के कस्तो सुरक्षा तयारी छ ?  मधेस प्रदेशका सुरक्षा प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) गोविन्द थपलियासँग नेपालटिभी अनलाइनका लागि श्याम ठाकुरले गरेको यो अन्तर्वार्ता-

आसन्न निर्वाचनलाई लक्षित गर्दै मधेश प्रदेशको समग्र सुरक्षा ब्यवस्थापन र अवस्था कस्तो छ?

निर्वाचन लोकतन्त्रको आधारस्तम्भ हो। त्यसैले हामीले यसलाई सामान्य प्रशासनिक कार्यक्रमका रूपमा होइन, संवेदनशील राष्ट्रिय प्रक्रियाका रूपमा लिएका छौं। हाल मधेश प्रदेशको समग्र सुरक्षा अवस्था सन्तोषजनक र नियन्त्रणमा छ।

हामीले निर्वाचन केन्द्रित ‘समग्र सुरक्षा कार्ययोजना’ लागू गरेका छौं, जसअन्तर्गत जोखिम विश्लेषण, क्षेत्रगत सुरक्षा मूल्यांकन, जनशक्ति पुनर्संरचना र आकस्मिक प्रतिकार योजना तयार गरिएको छ। सुरक्षा निकाय पूर्ण रूपमा ‘हाई अलर्ट’मा छन् र २४ घण्टा निगरानी प्रणाली सक्रिय छ।

यसपटक मधेशमा होली र निर्वाचन संगसँगै जस्तो छ । होलीमा सर्वसाधरणको उत्साह देखिनु स्वभाविक होला। यसले सुरक्षा चौनित पनि थप्ने अनुमान पनि भएका छन् । यो चुनौति कसरी ब्यवस्थापन गर्दै हुनुहुन्छ ?

यस वर्ष होली पर्व र निर्वाचन समय नजिक–नजिक परेकाले सम्भावित भीडभाड, जमघट तथा अवाञ्छित गतिविधिको जोखिमलाई ध्यानमा राख्दै विशेष सुरक्षा रणनीति लागू गरिएको छ।

आम नागरिक, राजनीतिक दल, बुद्धिजीवी, व्यवसायी, युवा वर्ग तथा विभिन्न संघ–संस्थालाई संयमित, सभ्य र मर्यादित ढंगले होली पर्व मनाउन हाम्रो आग्रह छ ।

त्यसैले पर्वलाई उत्साहका साथ तर जिम्मेवारीपूर्वक मनाउनु आवश्यक छ। सकेसम्म पारिवारिक वातावरणमा, सार्वजनिक स्थानमा अनावश्यक भीडभाड नगरी र कानूनको पालना गर्दै होली मनाउन अनुरोध गरेका छौ । सभावित सुरक्षा चुनौति तर्फ पनि उत्तिकै सचेत छौ ।

नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहसँग समन्वय गरी विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको र सम्पूर्ण सुरक्षाकर्मीलाई सोहीअनुसार परिचालन गरिएको छ । निर्वाचनको उत्साहसँगै संयमित, सभ्य र मर्यादित ढंगले होली पर्व मनाउन आग्रह छ ।

 निर्वाचनअघि सम्भावित सुरक्षा जोखिमहरू के–के देख्नुहुन्छ?

निर्वाचनअघि प्रचारप्रसारका क्रममा राजनीतिक प्रतिस्पर्धा, आपसी तनाव, भ्रामक सूचना प्रवाह, उक्साहटपूर्ण अभिव्यक्ति, तथा भीड व्यवस्थापन चुनौतीका रूपमा देखिन सक्छन्।

यसलाई ध्यानमा राख्दै:संयुक्त गस्ती र पेट्रोलिङ तीव्र पारिएको छ।संवेदनशील क्षेत्रमा ‘एरिया डोमिनेसन’ कार्य सञ्चालन गरिएको छ।शंकास्पद गतिविधि र व्यक्तिहरूमाथि निगरानी बढाइएको छ।

सामाजिक सञ्जालमार्फत फैलिन सक्ने अफवाह र दुष्प्रचारको निगरानीसमेत भइरहेको छ।हाम्रो उद्देश्य कुनै पनि किसिमको तनावलाई प्रारम्भिक चरणमै नियन्त्रण गर्नु हो।

खुला सीमाको सन्दर्भमा निर्वाचन प्रभावित पार्ने प्रयास हुन सक्छ भन्ने आशंका छ। तयारी कस्तो छ?

मधेश प्रदेशका अधिकांश जिल्ला खुला सीमासँग जोडिएका छन्। यसकारण बाह्य तत्वबाट हुन सक्ने घुसपैठ, अवाञ्छित चलखेल वा आपराधिक गतिविधिलाई हामीले गम्भीर रूपमा लिएका छौं।

सीमा नाकामा कडा चेकजाँच, सवारी साधन र व्यक्तिको विवरण अभिलेखीकरण, सादा पोशाकमा निगरानी, सीसीटीभी अनुगमन तथा संयुक्त सुरक्षा गस्ती परिचालनका कामहरु गरिएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना बीच समन्वय सुदृढ छ। आवश्यकता अनुसार सीमाबन्दी लगायत थप सुरक्षात्मक उपाय अवलम्बन गर्न तयारी अवस्थामा छौं।

मतदानस्थलहरूको संवेदनशीलता कसरी निर्धारण गरिएको छ?

हामीले विगतका अनुभव, भौगोलिक अवस्था, राजनीतिक गतिविधि र स्थानीय सामाजिक संरचनाको विश्लेषणका आधारमा मतदानस्थल वर्गीकरण गरेका छौं।

मतदानस्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी वर्गीकृत गरिएको छ।अति संवेदनशील स्थलमा बहु–तह सुरक्षा घेरा, अतिरिक्त सुरक्षाकर्मी र विशेष निगरानी व्यवस्था गरिएको छ।

सादा पोशाकका प्रहरी परिचालन गरी सूक्ष्म निगरानी गरिनेछ।आकस्मिक प्रतिकार टोली ‘स्ट्यान्डबाइ’ अवस्थामा रहनेछ। यसले मतदातालाई पूर्ण सुरक्षा प्रत्याभूति दिने विश्वास लिएका छौं।

मतदान पूर्व र मतदानको दिन सुरक्षा व्यवस्थापन कसरी हुँदैछ?

मतदानका दिन तीन तहमा सुरक्षा व्यवस्था लागू गरेका छौ । मतदान केन्द्र भित्र – सुरक्षाकर्मीको प्रत्यक्ष उपस्थिति रहने छ ।

मतदान केन्द्र वरिपरि  भीड व्यवस्थापन र शंकास्पद गतिविधि नियन्त्रण हुने भने बाह्य घेरा – गस्ती, चेकजाँच र आकस्मिक प्रतिक्रिया टोली रहने ब्यवस्था गरेका छौ ।

मतदाताको सुरक्षित आवत–जावत सुनिश्चित गरिनेछ। मतपेटिका र मतदान सामग्रीको ढुवानी तथा भण्डारणमा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ।

मतगणनापछि देखिन सक्ने सम्भावित चुनौतीबारे के तयारी छ?

मतगणना प्रक्रिया अत्यन्त संवेदनशील हुन्छ। परिणाम घोषणापछि विजय जुलुस, विरोध प्रदर्शन वा आकस्मिक विवाद हुन सक्ने सम्भावना रहन्छ। यसलाई ध्यानमा राख्दै हामीले  मतगणना स्थलमा कडा सुरक्षा घेरा बनाउँछौ ।

परिणाम घोषणापछि सम्भावित भीड व्यवस्थापनका लागि पूर्वतयारी गरिएको छ।कुनै पनि उत्तेजनात्मक गतिविधिलाई कानुनी दायराभित्र ल्याइनेछ। अन्तिम नतिजा सार्वजनिक नहुँदासम्म सुरक्षा संयन्त्र सक्रिय रहनेछ।

निर्वाचन केवल सुरक्षा निकायको जिम्मेवारी होइन, यो सम्पूर्ण नागरिकको साझा दायित्व हो। अफवाहमा विश्वास नगर्न, शंकास्पद गतिविधिबारे तुरुन्त प्रहरीलाई जानकारी दिन, र शान्तिपूर्ण वातावरण कायम राख्न सहयोग गर्न हाम्रो आग्रह छ ।

निर्वचनमा मतदानमा अवरोध हुने वा प्रभावित हुने गरी कुनै गतिविधि भए नजिकको प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय वा आधिकारिक सम्पर्क माध्यममार्फत सूचना दिन सकिन्छ। सूचनाको गोपनीयता सुनिश्चित गरिन्छ तत्कालै समस्या समाधानको पहल हुने गरि काम गरेका छौ ।

अन्त्यमा मतदातालाई के सन्देश दिन चाहनुहुन्छ?

यो एउटा लोतान्त्रिक पर्व हो  सम्पूर्ण मतदातालाई ढुक्क, निर्भीक र अनुशासित भएर आफ्नो मताधिकार प्रयोग गर्न हार्दिक अनुरोध गर्दछु। निष्पक्ष, पारदर्शी र भयमुक्त निर्वाचन सम्पन्न गराउने हाम्रो स्पष्ट प्रतिबद्धता छ।

त्यसमा कुनै कमी हुन दिदैनौ । नागरिकको सुरक्षा हाम्रो प्राथमिक दायित्व हो, र त्यो दायित्व पूरा गर्न सम्पूर्ण सुरक्षा संयन्त्र पूर्ण तयारी अवस्थामा छौँ । ढुक्क भएर आफुले रोजेको चाहेको उम्मेदवारालाई मतदान गर्नुहोस ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.