सुदूरपश्चिम प्रदेशका संवेदनशील मतदान केन्द्रमा सुरक्षा बलको थप टोली परिचालन: डिआईजी राना

कैलाली – फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सोमबार रातिदेखि निर्वाचनको मौन अवधि सुरु भएको छ। प्रतिनिधि सभातर्फ कुल १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा १७ लाखभन्दा बढी मतदाता रहेका छन्। यो प्रदेशमा कुल एक हजार १७६ मतदानस्थल र दुई हजार १९९ मतदान केन्द्र रहेका छन्। तीमध्ये ४८१ मतदानस्थल र ९८५ मतदान केन्द्र अतिसंवेदनशील सूचीमा राखिएका छन्।
यस्तै, ३०० मतदानस्थल सामान्य र ३९५ संवेदनशील रहेका छन् भने मतदान केन्द्रतर्फ ४५६ सामान्य र ७५७ संवेदनशील रहेका छन्। निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सुदूरपश्चिमका जिल्ला–जिल्लामा कस्तो सुरक्षा व्यवस्थापन मिलाइएको छ? भारत र चीन दुवै देशसँग सीमा जोडिएको यस क्षेत्रमा कस्ता सुरक्षा चुनौतीहरू रहेका छन्? लगायत विषयमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रहरी प्रमुख ओमबहादुर रानासँग नेपालटिभी अनलाइनका लागि सिताराम ओझाले गरेको अन्तर्वार्ताः
निर्वाचनको मुखमा छौं, समग्र सुरक्षा अवस्था कस्तो छ?
निर्वाचनको पूर्वसन्ध्यामा हामीले सुरक्षा व्यवस्था अत्यन्त व्यवस्थित रूपमा मिलाइसकेका छौं। सुरक्षा टोलीहरू मतदानस्थलसम्म खटिसकेका छन्।
निर्वाचनका लागि कति सुरक्षाकर्मी खटिएका छन्?
नेपाल प्रहरीबाट करिब सात हजारभन्दा बढी र करिब १३ हजार ५०० निर्वाचन प्रहरी खटिएका छन्। सशस्त्र प्रहरी र नेपाली सेना गरी ३० हजारभन्दा बढी सुरक्षाकर्मी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न खटिएका छन्।
होलीको माहोलले सुरक्षा चुनौती बढाएको छ, कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ?
होलीलाई लक्षित गरी विशेष सुरक्षा योजना बनाइएको छ। दुई हजारभन्दा बढी प्रहरी होली सुरक्षा योजनामा खटिएका छन्। विभिन्न स्थानमा चेकपोस्ट राख्ने, मोबाइल टोली परिचालन गर्ने र पैदल गस्ती सञ्चालन गरी २४सै घण्टा निगरानी बढाइएको छ।
मौन अवधिमा बढ्ने सुरक्षा चुनौतीलाई कसरी व्यवस्थापन गर्नुहुन्छ?
हरेक जिल्लामा थप मद्दतसहितका टोली खटाइएको छ। मोबाइल टोली, रिजर्भ टोली तथा मतदानस्थलमा खटिएका सबै टोलीलाई गैरकानुनी गतिविधि रोक्न स्पष्ट निर्देशन दिइएको छ। पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालित छन्।
भारतसँग सीमा जोडिएका जिल्लामा बाह्य सुरक्षा चुनौती के छन्?
खुला सिमानाका कारण भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने आवतजावत हुन्छ। भारतीय नम्बर प्लेटका सवारीसाधन पनि सञ्चालन हुने भएकाले काउन्टरपार्टसँग समन्वय गरी कडाइका साथ जाँच तथा निगरानी भइरहेको छ। केही भारतीय नम्बर प्लेटका मोटरसाइकल तथा अन्य सवारीसाधन नियन्त्रणमा लिइएको छ।
यसैगरी, फरार कैदीबन्दीहरूको विवरण सिमानामा राखिएको छ। घर–घरमा पुगेर खोजी अभियान सञ्चालन गरिएको छ।
सुदूरपश्चिम प्रदेशमा कति मतदान केन्द्र संवेदनशील छन्?
विगतका निर्वाचन र वर्तमान अवस्थालाई मध्यनजर गर्दै ४८९ अतिसंवेदनशील, ३९५ संवेदनशील र २९२ कम संवेदनशील गरी कुल १,१७६ मतदानस्थल वर्गीकरण गरिएको छ।
अतिसंवेदनशील मतदान केन्द्रमा पहिलो घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी तथा तेस्रो घेरामा नेपाली सेना खटिएका छन्। यस्ता केन्द्रमा तीन वटै सुरक्षा निकायका थप टोली पनि परिचालित छन्। मोबाइल टोलीले नजिकबाट निगरानी गरिरहेको छ।
निर्वाचन अघि, निर्वाचनको दिन र मतगणनासम्मको सुरक्षा योजना कस्तो छ?
निर्वाचनअघि हुने गतिविधिका लागि सुरक्षा योजना कार्यान्वयनमा छ। १७७ भन्दा बढी मोबाइल टोली परिचालन गरिएको छ। नेपाल प्रहरीका मात्रै २० भन्दा बढी रिजर्भ टोली छन्। सशस्त्र प्रहरी र नेपाली सेनाका टोली पनि तयारी अवस्थामा छन्। एसएसपी तहसम्मका अधिकृतहरू फिल्डमा खटिएका छन्। २४सै घण्टा निगरानी बढाइएको छ।
मतदाताले सुरक्षा सूचना कसरी दिन सक्छन्?
सबै जिल्लामा निर्वाचन सेल गठन गरिएको छ। जिल्ला सुरक्षा समिति र जिल्ला कमाण्ड पोस्ट सक्रिय छन्। प्रदेश स्तरमा पनि सुरक्षा कमाण्ड स्थापना गरिएको छ।
मतदाताले नजिकको सुरक्षा पोस्टमा जानकारी दिन सक्नुहुन्छ वा १०० नम्बरमा फोन गर्न सक्नुहुन्छ। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएका निर्वाचन सेलका नम्बरमा सम्पर्क गर्न सकिन्छ। सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मी तत्काल पुगेर आवश्यक कारबाही गर्नेछन्।
मतपेटिका लुट्ने प्रयास, होहल्ला गर्ने लगायतका कानुनविपरीत गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइनेछ। आवश्यक परे हेलिकप्टरसमेत तयारी अवस्थामा राखिएको छ।
मतदातालाई कसरी विश्वस्त पार्नुहुन्छ?
सुरक्षा व्यवस्था मजबुत बनाइएको छ। त्यसैले सबै मतदातालाई ढुक्क भएर आफ्नो नजिकको मतदान केन्द्रमा गई मताधिकार प्रयोग गर्न आग्रह गर्दछु। कुनै समस्या परे नजिकै रहेका सुरक्षाकर्मीलाई जानकारी दिन सक्नुहुन्छ। हामी पूर्ण तयारीमा छौं।






प्रतिक्रिया राख्नुहोस्