धनुषा-३ बाट रास्वपाका मनिष झा विजयी

काठमाडौँ- धनुषा-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार झाले ४३ हजार ९८८ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो ।

झाका निकटतम् प्रतिश्पर्धी नेपाली कांग्रेसका बिमलेन्द्र निधिले १६ हजार ६५२ मत प्राप्त गर्नुभएको छ ।

वि.सं. २०३७ साल जेठ १ गते जन्मनुभएका मनिष झा पूर्व प्रतिनिधि सभा सदस्य हुनुहुन्छ। उहाँले Masters of Business Administration (MBA) तथा MA in Political Science अध्ययन गर्नुभएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता समेत रहनुभएका झा २०७९ सालपछि सांसदका रूपमा संसदमा पार्टीको प्रभावशाली नेताको रूपमा स्थापित हुनुभएको थियो।

तथ्यांक र अनुसन्धानमा विशेष रुचि राख्ने उहाँ FACTS नेपालका संस्थापक तथा निर्देशक पनि हुनुहुन्छ। नीति विश्लेषणमा गहिरो अध्ययन, तथ्य र आँकडामा आधारित तर्क प्रस्तुत गर्ने शैली तथा विषयवस्तुको राम्रो तयारीसहित बहस गर्ने सांसदका रूपमा उहाँ चिनिनुहुन्छ।

कानूनको शासन, पारदर्शिता र जवाफदेहितामा आधारित शासन प्रणालीका पक्षधर झा भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलताको नीति अपनाउनुपर्ने आवाज निरन्तर उठाउँदै आउनुभएको छ। साथै, युवालाई अवसर, नेतृत्व र निर्णय प्रक्रियामा अगाडि ल्याउने तथा योग्यता र क्षमता आधारित (merit-based) राजनीतिक संस्कार विकास गर्नुपर्ने धारणा उहाँले जोडतोडका साथ राख्दै आउनुभएको छ।

त्यस्तै, आर्थिक सुधार, कर प्रणालीको पुनर्संरचना, दिगो विकास नीतिको प्रवर्द्धन तथा रोजगारीमुखी अर्थतन्त्र निर्माणसम्बन्धी विषयमा उहाँले संसद र सार्वजनिक बहसमा सक्रिय पैरवी गर्नुभएको छ।

संघीय शासन प्रणालीलाई अझ प्रभावकारी बनाउने, सार्वजनिक सेवा प्रवाह सुधार गर्ने र लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ बनाउने एजेन्डामा पनि उहाँ सुधारमुखी दृष्टिकोणसहित सक्रिय रहँदै आउनुभएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.