कालीकोटमा नेकपाका शाही विजयी

कर्णाली- कालीकोटमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही विजयी हुनुभएको छ । प्रतिनिधिसभा सदस्य पदका लागि बिहीबार सम्पन्न निर्वाचनको परिणाम अनुसार शाहीले ११ हजार ३३८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का नगेन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गर्नुभएको थियो । नेपाली कांग्रेसका हर्षबहादुर बमले सात हजार ९३३ मत प्राप्त गर्नुभएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का खड्गबहादुर विश्वकर्माले चार हजार ५९९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपानेले दुई हजार १३७ र नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाहीले ५९७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जनाएको छ ।
यस्तो छ शाहीको राजनीतिक यात्रा
विसं.२०३३ माघ १५ गते पचालझरना गाउँपालिका ९ (साबिकको नानीकोट गाविस. ८ कोटिला) कालिकोटमा जन्मिनुभएका शाही वडीमालिका माध्यामिक विद्यालय रास्कोटबाट एसएलसी उत्तीर्ण गर्नुभएको छ । .२०४८ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएका उहाँले नेकपा मसाल (एकता केन्द्र)बाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । पार्टी सदस्यता लिएपछि उहाँ अर्धभूमिगत हुनुभएको थियो ।
उहाँ २०५२ सालदेखि नेकपा (माओवादी) पार्टीको भूमिगत राजनीतिमा संलग्न हुनुभएको थियो । तत्कालीन जनयुद्धमा होमिएसँगै शाहीले पार्टीको संगठन र छापामारमा समानान्तर भूमिका निर्वाह गर्नुभयो । जनयुद्धमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै उहाँले शान्ति प्रक्रिया हुँदै सेना समायोजनसम्म काम गर्नुभयो ।
माओवादी शान्तिप्रक्रियामा आएपछि उहाँ माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज र हाल नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय नेता हुनुहुन्छ । विसं.२०७२ मा संविधानसभाबाट नयाँ संविधान जारी भई मुलुक संघीयतामा गएपश्चात् २०७४ मंसिरमा सम्पन्न चुनावमा कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित शाहीले उक्त सालको फागुनदेखि २०७८ सम्म कर्णाली प्रदेशको प्रथम मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँ विसं २०७० मा संविधानसभा सदस्य, ०७९ मा प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो ।






प्रतिक्रिया राख्नुहोस्