धादिङ-२ बाट रास्वपाका बोधनारायण श्रेष्ठ विजयी

काठमाडौँ- धादिङ-२ बाट रास्वपाका बोधनारायण श्रेष्ठ विजयी हुनुभएको छ । उहाँ २६१४३ मत प्राप्त गरी विजयी हुनुभएको हो।
उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेश धमलाले २०२७८ मत प्राप्त गर्नुभएको छ ।
२०२६ सालमा धादिङ जिल्लाको तत्कालिन मैदी गाविसमा जन्मिएका श्रेष्ठ राजनीतिक जिम्मेवारी नरहेनपनि लामो समय अघिदेखि नेकपा माओवादी निकट मानिनुहुन्थ्यो ।
उहाँ केही महिनाअघि मात्रै रास्वपा प्रवेश गरेर पार्टीको संगठन विभागको उपप्रमुखको जिम्मेवारीमा रहनु भएको थियो।
ग्रामीण विकासमा स्नातकोत्तर र राजनीति शास्त्रमा स्नातक गरेका श्रेष्ठको परिचय ‘विकास विज्ञ’ का रूपमा स्थापित छ ।
उहाँसँग युनिसेफ नेपाल, रेडक्रस लगायतका गैर सरकारी सस्थामा १७ वर्षसम्म खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजनामा काम गरेको अनुभव रहेको छ ।
२०७२ सालको विनाशकारी भूकम्प होस् वा कोभिड–१९ महामारीको समयमा पनि उनले समुदायको सुरक्षा र स्वास्थ्य सामग्री व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।
नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने अभियानदेखि राजमार्ग सुरक्षा र प्राथमिक उपचारसम्बन्धी अवधारणा विकास गरी दुर्घटना न्यूनिकरण र घाइतेको जीवन रक्षामा पनि उहाँले जनचेतनामूलक अभियानको नेतृत्व गर्नुभएको थियो ।
उहाँ नेपाल रेडक्रस सोसाइटी धादिङका पूर्वमन्त्री, उपसभापति तथा संगठन व्यवस्थापकसमेत हुनुहुन्थ्यो । उहाँ ज्वालामुखी गाउँपालिकास्थित बुढीगण्डकी क्याम्पसका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो ।।






प्रतिक्रिया राख्नुहोस्