जनताको आवाज संसदमा सशक्त रुपमा उठाउँछुः बोहरा

कञ्चनपुर- कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले जनताको आवाज संसद्सम्म सशक्त रूपमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

शनिबार विजयी घोषणा भएपछि सांसद बोहराले मतदाताले दिएको मत केवल जितका लागि मात्र नभई परिवर्तनका लागि भएको बताउनुभयो । उहाँले यस क्षेत्रका जनताको हितका लागि निरन्तर पहल गर्ने बताउनुभयो । मतदाताप्रति आभार व्यक्त गर्दै उहाँले यो विजय आफ्नो व्यक्तिगत नभई कञ्चनपुर–२ मा परिवर्तन चाहने सम्पूर्ण जनताको साझा विजय भएको बताउनुभएको छ ।

सांसद बोहरा करिब १८ वर्षदेखि टेलिभिजन पत्रकारितामा सक्रिय रहनुभएको थियो । उहाँले नेपाल टेलिभिजन, नेपाल वान, न्यूज–२४ तथा ग्यालेक्सी फोरके टेलिभिजनजस्ता सञ्चारमाध्यममा कार्यरत रहँदै राष्ट्रिय तथा जनचासोका विषय उजागर गर्दै आउनुभएको थियो । सञ्चार क्षेत्रमार्फत समाजका विविध समस्या र सरोकारका विषय उठाउँदै आउनुभएका बोहरा पछिल्लो समय सक्रिय राजनीतिमा होमिनुभएको हो ।

चुनावी अभियानका क्रममा साथ, सहयोग र प्रेरणा दिने मतदाता, समर्थक, स्वयंसेवक तथा शुभेच्छुकप्रति कृतज्ञता व्यक्त गर्दै सांसद बोहराले अबको आफ्नो प्रमुख दायित्व जनताको विश्वासलाई सम्मान गर्दै यस क्षेत्रका समस्या समाधान, सुशासनको सुदृढीकरण तथा समग्र विकासका लागि इमान्दारीपूर्वक काम गर्नु रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सार्वजनिक अन्तिम मतपरिणामअनुसार बोहरा ३३ हजार ९५२ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नारायणप्रकाश साउदले १० हजार ८२७ मत प्राप्त गर्नुभएको छ ।

यसैबीच, नवनिर्वाचिन प्रतिनिधिसभा सदस्य बोहरालाई बधाई दिँदै उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार साउदले शान्ति, सुशासन, संवैधानिक सुधार र रोजगारीका अवसर सृजनाका लागि नेपाली जनताको चाहना निर्वाचनमा प्रतिविम्बित भएको बताउनुभयो ।

“देशमा विद्यमान लोकतान्त्रिक निर्वाचन प्रकृयाबाट युवाहरू भर्खरै सम्पन्न निर्वाचनमा विजयी हुनुभएको छ”, उहाँले भन्नुभयो, “भावी संसद्मा निर्वाचित युवाहरूलाई नीति निर्माणको प्रभावकारी भूमिकामा पुगेको देख्नेछौँ, उहाँहरूको कार्यकालमा यस क्षेत्रका जनताको सेवा, विकास र समृद्धिका लागि गर्ने योगदानमा मेरो पनि सद्भाव र समर्थन रहने छ ।”

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार माधवप्रसाद पन्तले निर्वाचित प्रतिनिधिसभा सदस्य बोहरालाई निर्वाचन कार्यालयमै पुगेर बधाई दिँदै कार्यकाल सफलताको कामना गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.