खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई विजयी

खोटाङ- खोटाङबाट प्रतिनिधि सभा सदस्यमा श्रम संस्कृति पार्टीका आरेन राई विजयी हुनुभएको छ। उहाँले १६ हजार ६१२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका देव विक्रम राईले १२७१४ मत प्राप्त गर्नुभएको छ ।
खोटाङ केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका आरेन राई श्रम संस्कृति पार्टीका केन्द्रीय महासचिव हुनुहुन्छ ।
२९ वर्षीय राई विसं २०८० मा मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका सर्वोच्चसभा सदस्य एवम् आर्थिक विभाग प्रमुख पद परित्याग गरेर श्रम संस्कृति पार्टी प्रवेश गर्नुभएको थियो ।
राई पहिचानवादी नेताका रुपमासमेत परिचित हुनुहुन्छ ।
सानै उमेरदेखि विभिन्न सङ्घ-संस्थामा आवद्ध रहेर सामाजिक काम गर्दै खुला राजनीतिमा आउनुभएका राईले अब प्रतिनिधिसभामा गएर भूइँ मान्छेको हित हुने किसिमको नीति निर्माण तथा उनीहरुको आवाज बुलन्द गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
२०७४ सालसम्म राष्ट्रवादी केन्द्र नेपाल अभियानका केन्द्रीय सदस्य रहेर सामाजिक अभियानमा खटिनुभएका उहाँ स्नातक तहमा अध्ययनरत विद्यार्थी हुनुहुन्छ ।
जातीय विभेदविरुद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी प्रमिला बिसुका (सार्की)सँग अन्तरजातीय विवाह गर्नुभएको छ ।
श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईको गृह जिल्ला खोटाङमा सोही पार्टीका महासचिव राईको उम्मेदवारी घोषणालाई महत्वका साथ हेरिएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्