झापा-२ बाट रास्वपाकी इन्दिरा राना विजयी

काठमाडौँ- झापा-२ बाट रास्वपाकी इन्दिरा राना मगर विजयी हुनुभएको छ । उहाँ ६०११० मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।
उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका देवराज घिमिरेले ११३६८ मत प्राप्त गर्नुभएको छ ।
बालबालिका तथा महिला सशक्तीकरणका क्षेत्रमा बन्दी सहायता नेपालमार्फत समाजसेवामा चर्चा बटुल्नु भएकी राना मगरको यो दोस्रो संसदीय यात्रा हो।
झापाको शनिश्चरे-६ मा २०२७ सालमा जन्मिनु भएकी राना यसअघि रास्वपाबाट समानुपातिक सांसद बन्नु भएको थियो। यसअघिको कार्यकालमा उहाँले प्रतिनिधि सभाको उपसभामुखको जिम्मेवारी सम्हाल्नु भएको थियो।
उहाँले १७ वटा बालगृह सञ्चालन गरी २०० भन्दा बढी बालबालिकालाई सुरक्षित आवास र गुणस्तरीय शिक्षा प्रदान गर्दै समाजमा योगदान पुर्याउनु भएको छ।
राजनीतिमा आउनु पूर्व विशेषगरी केन्द्रीय महिला कारागार तथा विभिन्न जेलहरूमा डे-केयर र कल्याण कार्यक्रम सञ्चालन, महिला कैदी तथा रिहा भएकाहरूका लागि सीपमूलक तालिम र पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्दै आउनु भएको थियो ।
साथै ‘जुनकिरी’ शैक्षिक पहलमार्फत वैकल्पिक तथा गुणस्तरीय शिक्षा प्रवर्द्धनमा पनि योगदान पुर्याउनु भएको छ।
उपसभामुख हुँदा राना मगरले केही व्यक्तिको भिसा अन्तर्वार्ताको मिति अगाडि सारिदिन आग्रह गर्दै काठमाडौंस्थित अमेरिकी दूतावास लाई लेखेको पत्र सार्वजनिक भएपछि त्यसले विवादको रूप लिएको थियो।
संयुक्त राष्ट्रसंघीय एक निकायको कार्यक्रममा सहभागी हुन जान लागेका केही व्यक्तिहरूका लागि भिसा अन्तर्वार्ताको मिति अघि सारिदिन दूतावासलाई पत्राचार गरेपछि त्यो कार्य उपसभामुखको पदीय गरिमाभन्दा बाहिर रहेको भन्दै अन्य दलहरूले उहाँमाथि कारबाही हुनुपर्ने आवाज सदनमा उठाएका थिए।
यसपटकको निर्वाचनमा उहाँ आफैँ उपसभामुख हुँदा सभामुख रहनुभएका देवराज घिमिरेसँग प्रतिश्पर्धामा हुनुभएकी रानाको निर्वाचन क्षेत्र निकै चर्चामा थियो।।






प्रतिक्रिया राख्नुहोस्