काभ्रे-२ बाट रास्वपाका बदनकुमार भण्डारी विजयी
काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तरगत काभ्रे-२ बाट रास्वपाका बदनकुमार भण्डारी विजयी हुनुभएको छ। उहाँले ५३३४४ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मधु प्रसाद आचार्यले १७८६८ मत प्राप्त गर्नुभएको छ ।
३३ वर्षीय भण्डारी काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–२ मा जन्मिनुभएको हो। उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सार्वजनिक मामिला सचिव हुनुहुन्छ र सामाजिक सेवामा सक्रिय रूपमा संलग्न रहनुभएको छ। पेशाले पत्रकार भण्डारीले १२ कक्षा सम्मको अध्ययन गर्नु भएको छ ।
डिजिटल अर्थतन्त्र, अनलाइन व्यापार तथा उपभोक्ता अधिकारलाई कानुनी ढाँचामा ल्याउने विषयमा उहाँले सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ।
“डिजिटल नेपाल” अवधारणालाई नियम-कानुनद्वारा सुरक्षित र व्यवस्थित बनाउने उहाँको सोच रहेको छ।
भूकम्प, कोरोना महामारी तथा बाढी–पहिरोजस्ता संकटका समयमा राहत तथा सहयोगका कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै उहाँले ‘काम गरेर देखाउने’ नेतृत्वको उदाहरण प्रस्तुत गर्नुभएको छ।
साथै, लायन्स क्लबमार्फत दीर्घकालीन सामाजिक सेवामा संलग्न रहँदै रक्तदान, वातावरण संरक्षण तथा विपन्न र असहाय व्यक्तिहरूलाई सहयोग गर्ने विभिन्न पहलहरूमा निरन्तर योगदान दिँदै आउनुभएको छ।
ई–कमर्स तथा व्यवसायिक अनुभवका आधारमा रोजगारी, सीप विकास, बजार पहुँच र आयवृद्धि कसरी बढाउन सकिन्छ भन्ने विषयमा उहाँसँग व्यावहारिक बुझाइ रहेको छ। स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले उहाँले विभिन्न पहलहरू अघि बढाउनुपर्नेमा जोड दिनुहुन्छ।
समाजका पछाडि पारिएका समुदाय, दैनिक ज्यालादारी श्रमिक, साना व्यापारी तथा युवाहरूलाई नीति र अवसरसँग जोड्ने प्रतिबद्धता उहाँले व्यक्त गर्दै आउनुभएको छ। पारदर्शिता, जवाफदेहिता र परिणाममुखी सेवा-डेलिभरीलाई प्राथमिकतामा राख्दै आउनु भएको छ।।






प्रतिक्रिया राख्नुहोस्