चितवनमा तोरीको उत्पादन घट्यो

चितवन- जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी आएको छ । कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ निर्मल पौडेलका अनुसार गत वर्ष प्रतिहेक्टर १.३१ मेट्रिक टन उत्पादकत्व रहेकामा यस वर्ष १.०१ मा झरेको छ । गत वर्ष जिल्लामा १८ हजार ५६५ मेट्रिक टन तोरी उत्पादन भएकामा यस वर्ष १४ हजार ३१५ मेट्रिक टन उत्पादन भएको छ ।
जिल्लामा १४ हजार १७३ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिँदै आइएको छ । उहाँका अनुसार तोरी उत्पादनमा कमी आउनु बेमौसमी पानी पर्नु प्रमुख कारण हो । यससँगै किसानले दोस्रोपटक तोरी लगाउनुपर्ने बाध्यता आएको थियो । फूल फुल्ने समयमा हुस्सु लाग्नु र तुसारोका कारण पनि तोरीको उत्पादन घटेको हो ।
चितवनलाई तोरी उत्पादनका लागि महत्त्वपूर्ण जिल्लाका रूपमा लिइँदै आएको छ । नगदे बालीमा पछिल्ला वर्षहरूमा किसानको आकर्षण बढेसँगै तोरी लगाउने किसान पनि बढेका हुन् । विशेषगरी जङ्गली जनावरले तोरीमा क्षति नपुर्याउने भएकाले यसतर्फ किसानको आकर्षण बढेको उहाँको भनाइ छ ।






प्रतिक्रिया राख्नुहोस्