दैलेख-२ बाट एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत दैलेख-२ बाट एमालेका लक्ष्मीप्रसाद पोखरेल निर्वाचित हुनुभएको छ। उहाँ १३८८९ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिक्पालकुमार शाहीले ९५५२ मत प्राप्त गर्नुभएको छ ।
दैलेखको दुल्लुमा जन्मिनुभएका ६३ वर्षीय लक्ष्मीप्रसाद पोखरेल २०७० सालको संविधानसभा सदस्य तथा नेकपा एमालेका पोलिटब्यूरो सदस्य हुनुहुन्छ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट राजनीति सुरु गर्नुभएका पोखरेलपछि नेकपा एमालेको राजनीतिमा प्रवेश गर्नुभएको थियो।
उहाँ २०४५ सालमा दैलेख जिल्लामा भएको मदिरा निषेध आन्दोलनका नेतृत्वकर्ता हुनुहुन्थ्यो। साथै २०४६ सालको संयुक्त जनआन्दोलनका क्रममा दैलेख जिल्लाका संयोजकको भूमिकामा रहेर आन्दोलनको नेतृत्व गर्नुभएको थियो।
नेमकिपाबाट एमालेमा आउनुभएका उहाँ एमाले विभाजन हुँदा वामदेव गौतम नेतृत्वको नेकपा मालेमा लाग्नुभएको थियो। पछि उहाँ भेरी अञ्चल समन्वय समितिको संगठन विभाग प्रमुख तथा नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य को जिम्मेवारी समेत सम्हाल्नुभएको थियो।
यसैबीच, २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा एमालेबाट उम्मेदवार बनेर उहाँले संसदीय यात्रा सुरु गर्नुभएको थियो।
पोखरेलले स्नातकसम्मको अध्ययन पूरा गर्नुभएको छ।।






प्रतिक्रिया राख्नुहोस्