गौशालालाई व्यवस्थित र आधुनिक बनाउँदै उद्योगका रूपमा विकास गर्नुपर्छ: प्रधानमन्त्री कार्की

महोत्तरी- प्रधानमन्त्री सुशीला कार्कीले महोत्तरीको गौशाला नगरपालिका–३, नवराजपुरस्थित निगौल गाई गौशालाको स्थलगत निरीक्षण गर्नुभएको छ ।
अन्तरिम सरकारको नेतृत्व सम्हालेपछि पहिलो पटक महोत्तरी भ्रमणमा आउनुभएकी कार्कीले गौशालाको समग्र अवस्था, व्यवस्थापन र गाईवस्तुको अवस्थाबारे प्रत्यक्ष जानकारी लिनुभएको हो ।
लामो समयदेखि निगौल गाई गौशालामा रहेका गाईवस्तुको दुरावस्थाबारे स्थानीयस्तरमा गुनासो उठ्दै आएको थियो ।
निरीक्षणका क्रममा उहाँले गाईवस्तुको संरक्षण, उचित स्याहार तथा व्यवस्थापनमा देखिएका कमजोरीप्रति चासो व्यक्त गर्नुभयो ।
निरीक्षणपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री कार्कीले श्वास लिने सबै जीवजन्तुको संरक्षण गर्नु मानवको कर्तव्य भएको बताउनुभयो ।
उहाँले गाईको संरक्षणलाई केवल धार्मिक आस्थासँग मात्र नभई आर्थिक सम्भावनासँग पनि जोडेर हेर्नुपर्ने धारणा राख्नुभयो ।
“गाईलाई जोगाएर त्यसलाई रोजगारी र उत्पादनसँग जोड्न सकिन्छ, जसबाट स्थानीय स्तरमै आर्थिक गतिविधि बढाउन सकिन्छ,” उहाँले भन्नुभयो ।
प्रधानमन्त्री कार्कीले हिन्दु धर्ममा सबै जीवजन्तुप्रति सम्मान र पूजा गर्ने परम्परा रहेको उल्लेख गर्दै गाईलाई ‘आमा’को रूपमा सम्मान गरिने भएकाले यसको संरक्षणमा कुनै पनि प्रकारको लापरबाही हुन नहुने स्पष्ट पार्नुभयो।
“गाईको शोषण हुनु हुँदैन, यसको संरक्षण र सम्मान हाम्रो दायित्व हो,” उहाँले जोड दिनुभयो ।
यस अवसरमा प्रधानमन्त्री कार्कीले निगौल गाई गौशालालाई व्यवस्थित र आधुनिक बनाउँदै उद्योगका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले गाईगौशालालाई दुग्ध उत्पादन, जैविक मल, तथा अन्य कृषि आधारित उत्पादनसँग जोडेर रोजगारी सिर्जना गर्ने सम्भावना रहेको बताउँदै त्यसतर्फ सम्बन्धित निकायले विशेष पहल गर्नुपर्ने निर्देशन दिनुभयो ।।






प्रतिक्रिया राख्नुहोस्