अझै रोकिएन बर्षा, काठमाडौँको जनजीवन प्रभावित, भोलिसम्म पानी पर्ने

काठमाडौँ- काठमाडौँमा अपरान्हतिर सुरु भएको बर्षा अझै रोकिएको छैन । मेघगर्जनसहितको बर्षाले जनजीवन प्रभावित भएको छ ।
करिव ६ बजेसम्म उज्यालो हुने काठमाडौँमा आज दिउँसैदेखि रातपरेको जस्तो अँध्यारो बनेको छ। विभिन्न कामको शिलशिलामा घर बाहिर वजार र बाटोमा रहेका आम मानिसहरुलाई बर्षादले आवतजावतमा असर पारेको छ।
विद्यालयबाट विद्यार्थीहरु फर्कन समेत कतिपय ठाउँमा समस्या भएको समाचारहरु प्राप्त भएका छन । विद्यालयहरुले विद्यालयमा नै विद्यार्थी राखेर अभिभावकलाई खबर गरेका छन ।
मुख्य बजारमा मानिसहरु ओत लागेर पसल पसलमा बसेका छन । सार्वजनिक यातायात ठप्प हुँदा सर्वसाधारण मर्कामा परेका छन ।
ट्याक्सी तथा राइडर सेवा समेत प्राय: बन्द हुँदा मानिसहरु आफ्नो गन्तव्यतर्फ जान सकिरहेका छैनन् ।
काठमाडौँमा मात्र नभई मौसममा आएको बदलावसँगै देशका विभिन्न भागमा हावाहुरी, असिना तथा चट्याङसहित बर्षा भएको छ ।
देशको पूर्वी तथा पश्चिमका विभिन्न जिल्लामा मुसलधारे बर्षा भएको हाम्रा समाचारदाताहरुले जनाएका छन् ।
यसैबीच, मौसमविद् हरिप्रसाद दाहालले नेपालटिभीअनलाइनसँग कुरा गर्दै अझै बर्षा निरन्तर हुने जानकारी दिनुभएको छ। उहाँले भोलिसम्म हल्कादेखि मध्यम बर्षा हुने बताउनुभयो ।
अझै केही समय बर्षा र हावाहुरीको संभावना रहेकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।।






प्रतिक्रिया राख्नुहोस्