वादी समुदायका पहिलो महिला मन्त्री  सीता वादी

काठमाडौँ, १३ चैतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त हुनुभएको छ । वादी समुदायबाट मन्त्री बनेको उहाँ पहिलो हो ।
महिला सशक्तिकरणमा सामाजिक संस्थामार्फत सेवा गर्दै आउनुभएकी नवनियुक्त वादीले हालै रासससँगको कुराकानीम उहाँले वादी समुदायका महिलाको स्थिति झनै नाजुक रहेको बताउनुभयो । संस्थामार्फत सिलाइकटाइ प्रशिक्षण दिएर महिलालाई आर्थिक स्वावलम्बी बनाउने काम गर्दै आएको उहाँले जानकारी दिनुभयो  ।
कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका–१४ स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ–८ मा बसोबास गर्दै आएकी वादीले राजनीतिक यात्रामा रास्वपाबाट सुरु गर्नुभएको हो । “महिलाहरुको स्थिति नाजुक छ, त्यसमा पनि दलित र वादी समुदायको त झनै पीडादायी छ,” उहाँले भन्नुभयो, “स्थिति सुधार गर्ने खालको परिणाममुखी काम गर्छु ।”
सीताका अनुसार राजनीतिको यात्रा सजिलो छैन । तर, यो अवसरलाई उहाँले भरपुर सकारात्मक कार्यमा लगानी गर्ने बताउनुभयो । समाजमा विद्यमान असमानता, विभेद र अपमानको जालो हटाएर समानतापूर्ण समाज निर्माण गर्नुपर्ने उहाँको धारणा छ । आधा आकाश ढाक्ने महिलाको परिस्थितिलाई अझै बलियो बनाउने र सीमान्तकृत समुदायका महिलाको विकासमा जोड दिने उहाँको योजना छ ।
वादी समुदाय, दलितभित्र पनि अत्यन्तै सीमान्तकृत, जहाँ गरिबी मात्रै होइन, नियति जस्तो बनाइयो, जहाँ अपमान सामान्य व्यवहारजस्तै स्वीकार गर्न बाध्य बनाइयो ।
यसअघि वादी समुदायबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसबाट उमादेवी वादी निर्वाचित हुनुभएको थियो । “वादी समुदायका खान र बस्नसमेत नपाएको अवस्था छ । वादी समुदायका छोरीहरुको अवस्था अन्धकारमय छ,” उहाँले भन्नुभयो । आफ्नो बाल्यकाल आर्थिक अभाव र सामाजिक अपहेलनाले भरिएको बताउँदै उहाँले पढ्नका लागि कलम–कापी नपाउँदाको पीडा सम्झनुभयो । उहाँले गरिबीकै कारण खान र बस्नसमेत चुनौती खेपेर बाल्यकाल हुर्किएको सुनाउनुभयो ।
यद्यपि वादीले जीवनमा भोगेका थुप्रै सङ्घर्षले आफ्नो जीवनलाई थप बलियो र परिपक्व बनाएको बताउनुभयो । अभावका बीच पनि पढ्ने रहर उहाँले कहिल्यै मार्नुभएन र एउटा संस्थाले उहाँलाई शिक्षामा सहयोग गर्यो । समाजसेवा (बिएसडब्लु) अध्ययन पूरा गर्नुभएकी वादीले शिक्षा नै चेतनाको मुख्य आधार रहेको बताउनुभयो । पढ्न पाएपछि उहाँले जीवनलाई फरक ढङ्गले अगाडि बढाउन सक्ने हुनुभयो । “समाजमा आत्मसम्मानको लडाइँ निकै ठूलो हँुदोरहेछ,” उहाँले भन्नुभयो, “जुन अहिलेसम्म लडिरहेछु ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.