प्रतिनिधि सभामा तीन वटा अध्यादेश पेस

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेस गर्नुभएको छ । सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सदस्यहरूले मन्तव्य राखिसकेपछिको नियमित कार्यसूचीअन्तर्गत उहाँले ‘नागरिकता सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश, २०८२’ पेस गर्नुभएको हो ।
नेपालको संविधानको धारा ८४ को उपधारा (२) बमोजिम समानुपातिकको बन्द सूचीमा समावेश गराउनुपर्ने जनसङ्ख्याको आरक्षणका लागि अध्यादेशबाट कानुन संशोधन गरिएको थियो । गत फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन मिति तोकिएपछि सोका लागि मतदाता नामावली अध्यावधिकको प्रयोजनका लागि अघिल्लो सरकारले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश’ ल्याएको थियो ।
गृहमन्त्री गुरुङले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरषद्को कार्यालयअन्तर्गतबाट गृह मन्त्रालयअन्तगर्त राख्न ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश’ जारी भएको जानकारी गराउनुभयो । बैठकमा संविधानसभाका सदस्य एवं पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद अफ्ताव आलम, कृष्णकुमारी श्रेष्ठ, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधानसभा तथा राष्ट्रियसभाका सदस्य बलदेव बोहराको विभिन्न समयमा भएको निधनप्रति शोक प्रस्ताव पारित गरिएको छ ।
प्रतिनिधिसभाको अर्काे बैठक यही चैत २२ गते आइतबार बिहान ११ः०० बजे बस्नेछ ।






प्रतिक्रिया राख्नुहोस्