कार्यालय समय परिवर्तन गर्ने सरकारको निर्णयसँगै सतकर्ताको निगरानी

काठमाडौँ- राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा प्रवाह भए/नभएकाबारे छड्के गर्न राजधानीबाहिर टोली खटाएको छ ।
आजदेखि लागू भएको परिमार्जित कार्यालय समयको परिपालना र सेवा प्रवाहलाई चुस्त तुल्याउने उद्देश्यका साथ केन्द्रले काठमाडौँ उपत्यकाबाहिर नौ जिल्लामा टोली खटाएको प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिनुभएको छ ।
आयोजनाको गतिविधि र सेवा प्रवाहमा निगरानी तथा छड्के गर्ने गरी आजैदेखि उपत्यकाबाहिर पनि केन्द्रका टोली खटिएका र केन्द्रमा प्राप्त उजुरी तथा गुनासो सम्बोधन गर्ने काम पनि तीव्र गतिमा भइरहेको भट्टले बताउनुभयो ।
नेपाल सरकारले आजदेखि लागू हुनेगरी कार्यालय समय बिहान ९ः०० देखि साँझ ५ः०० बजेसम्म बनाएको छ ।
सरकारको निर्णयलाई मध्यनजर गरेर सो अवधिमा समय पालना भए/नभएको, कर्मचारीले तोकिएको कार्यकक्षमा बसेर कार्यसम्पादन गरे/नगरेको, सेवाग्राहीका काम समयमा सम्बोधन भए/नभएकाबारे अनुगमन भइरहेको केन्द्रका सहसचिव भट्टको भनाइ थियो ।
त्यस क्रममा भ्रष्टाचार र गलत कार्य भएको पाइएमा तत्काल सुधारका लागि निर्देशन दिने र भ्रष्टाचारसम्बन्धी काम भएको भेटिए अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाहलाई सरलीकरण र सहजीकरण गर्ने वर्तमान सरकारको गति र उद्देश्यअनुसार आफ्नो सम्पूर्ण साधनस्रोत र जनशक्ति परिचालित गरिएको केन्द्रले जनाएको छ ।।






प्रतिक्रिया राख्नुहोस्