राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली
काठमाडौँ– राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिले आज पदबहाली गर्नुभएको छ ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेल, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति जयन्तीदेवी राई, विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकाया र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरीले आज सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग शपथ ग्रहण गरेपछि आ–आफ्नो कार्यकक्षमा गई पदबहाली गर्नुभएको हो ।
पदबहालीपछि रासससँग प्रतिक्रिया दिनुहुँदै सुशासन समितिका सभापति पौडेलले दिगो, समन्यायिक र सन्तुलित विकासका लागि नीति, कानुन बनाउने काममा आफू सक्रिय हुने जानकारी गराउनुभयो । भ्रष्टाचार न्यूनीकरण गरी सुशासनका लागि समितिको कार्य क्षेत्रअन्तर्गत रही काम गर्ने उहाँको भनाइ थियो । सेवा प्रवाह, सूचना प्रविधि र नवप्रवर्तन पनि समितिको कार्य क्षेत्र भएकाले यस क्षेत्रमा पनि समितिले काम गर्ने सभापति पौडेलले बताउनुभयो ।
राष्ट्रिय सरोकार समितिका सभापति राईले विगतमा बनेका कार्ययोजना कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो । विशेषगरी साइबर बुलिङका घटना बढिरहेकाले यस विषयमा पनि छलफल गराउने उहाँको भनाइ थियो । पछिल्लो समय निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने गरी सरकारका तर्फबाट भएको निर्णयका बारेमा पनि सरोकार भएका निकायलाई बोलाएर बहस गराउने सभापति राईले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्