छ महिनामा एक लाख ७६ हजार सवारी अनुमतिपत्र वितरण गरिने

भक्तपुर- यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका एक लाख ७६ हजार २५० थान सवारी अनुमतिपत्र (लाइसेन्स) छ महिनाभित्र वितरण सक्ने योजना बनाएको छ ।

कार्यालयले मङ्गलबारदेखि सन् २०२२ देखि २०२४ सम्मका सबै र २०२५ का केही सवारी अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु गरेको र बिहीबारसम्म जम्मा तीन हजार सवारी अनुमतिपत्र वितरण गरेको कार्यालयका सूचना अधिकारी जीवन बस्नेतले जानकारी दिनुभयो । अझै एक लाख सवारीपत्र छपाइ भएर आउन बाँकी रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मङ्गलबारदेखि लाइसन्स वितरण सुरु गरेका छौँ, पहिलो दिन ८०० वितरण गर्यौँ, दोस्रो दिन र तेस्रो दिनसम्म गरेर तीन हजार वितरण गर्यौँ, आठ जना कर्मचारी लाइसेन्स वितरणमा ९ः०० बजेदेखि ५ः०० बजेसम्म खटिँदा पनि एक हजारभन्दा बढी वितरण गर्न सकिँदैन, यही अवस्थामा सबै लाइसेन्स वितरण गर्न छ महिना समय लाग्छ ।”

सरकारले पठाएको लाइसेन्स लिन दैनिक भीड नगर्न सेवाग्राहीलाई आग्रह गर्दै उहाँले लाइसेन्सको बिलदेखि मोबाइल एप्स प्रयोग गरेर लाइसेन्स देखाउन सकिने बताउन सकिने भएकाले भीड नगरी विस्तारै आइदिन सेवाग्राहीलाई आग्रह गर्नुभयो ।

कार्यालयले सवारी अनुमतिपत्र वितरण सुरु गरेपछि चार वर्षदेखि लाइसेन्स लिन कुरिरहेका सेवाग्राहीको कार्यालयमा भीड बढेको छ । बिहान ७ः०० बजेदेखि नै कार्यालय अगाडि सेवाग्राहीको भीड लागेपछि कार्यालयले बिहान ९ः०० बजे कार्यालय खुल्नेबित्तिकै सवारी अनुमतिपत्र वितरण गर्ने गरेको बस्नेतले जानकारी दिनुभयो ।

नवीकरणका लागि आवेदन दिएका र लिखित तथा प्रयोगात्मक परीक्षा उत्तीर्ण गरी नयाँ लाइसेन्सका लागि चार वर्षदेखि प्रतीक्षामा रहेका सेवाग्राहीले अहिलेसम्म रसिदका भरमा सवारीसाधन सञ्चालन गर्दै आएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.