सीमामा भन्सार कडाइः महेन्द्रनगरमा चहलपहल बढ्यो, वनबासा सुनसान

महेन्द्रनगर- पश्चिम नेपालका नेपाल–भारत सीमामा सुरक्षा संयन्त्रले भारततर्फबाट आयात हुने मालसमानमा कडाइ गरेपछि कञ्चनपुरको महेन्द्रनगर बजारमा मालवस्तु किनमेलका लागि चहल पहल बढेको छ ।

भारतबाट आायत हुने सामानमा गड्डाचौकी नाकामा भन्सार कडाइ गरेपछि दैनिक उपभोग्यदेखि मालसमान खरिदका लागि सीमावर्ती भारतीय बजार वनबासा जाने क्रम घटेको छ । यसरी हेर्दा दैनिक मालवस्तु किनमेलका लागि लाग्ने गरेको वनबासा बजार सुनसान हुँदा यता नेपालतर्फका पसलहरुमा चहलपहल बढेको हो ।

गड्डाचौकी र आसपासका क्षेत्रमा केही समययता सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले भन्सार जाँचमा कडाइका साथै १०० रुपैयाँभन्दा बढीको सामान आयात गर्दा भन्सार राजश्व बुझाउनुपर्ने विषयमा सतर्कता बढाएपछि महेन्द्रनगर बजारमा चहलपहल बढेको हो ।

महेन्द्रनगरका व्यवसायी इन्द्रबहादुर बमले सीमामा भएको भन्सार कडाइका कारण यता नेपालतर्फको महेन्द्रनगर बजारमा किनमेल बढेको बताउनुभयो । उहाँले मानिसहरु पहिले भारतीय बजारमा सामान सस्तो पाइनेभन्दा स्थानीयहरु बजारका लागि पारि जाने गरेकोमा अहिले त्यस्तो नहुने रहेछ भन्ने तथ्य पनि उनीहरुले बझ्न थालेको बताउनुभयो ।

“सामान सस्तो भए पनि भन्सारदेखि जाँदा मोटरसाइकलमो तेलको मुल्य जोड्ने हो भने बराबरजस्तै हुन्छ”, उहाँले भन्नुभयो, “सीमामा भन्सारले कडाइ गरे नेपालमा व्यवसाय गर्न मानिसहरुको आकर्षण बढ्छ ।” उहाँले सामान्य घरायसी सामान खरिद गर्न पनि पारि बजार जाने प्रचलनजस्तै रहेको बताउनुभयो ।

विगतका तुलनामा बजारमा गतिविधि बढे पनि भन्सार कडाइमा सुरक्षा निकायदेखि उद्योग वाणिज्य सङ्घको समेत सशक्त भूमिका हुनुपर्ने उहाँको भनाइ छ । उहाँले पछिल्लो समय पुनः घरका लागि पुजाका लागि भनेर सामान ल्याउन खोज्नेहरु सलबलाउन थालेको पनि बताउनुभयो ।

उता सीमावर्ती भारतीय बजार वनबासा सदियौँदेखि नेपाली उपभोक्ताहरुमा आश्रित बजार हो । नेपाली भन्सारमा कडाइ हुँदा वनबासा बजारको व्यापार भने प्रभावित बनेको भारतीय व्यापारीहरुको भनाइ छ ।

“गर्मी याममा पङ्खादेखि फ्रिज, कुलर खरिदका लागि नेपालबाट दैनिक मान्छेहरु यहाँ आउँथे”, वनबासाका एक बिजुली पसलेले भने “सीमामा कडाइ हुँदा अहिले त यहाँका धेरैको व्यापार चौपट हुने अवस्था छ । हाम्रो बजार नै लगभग नेपालतर्फबाट त्यहाँका स्थानीयहरु नै हुने गर्दथे । तर अहिले आउन नै छोडेका छन् । आए पनि सानोतिनो सामान किनेर गइहाल्छन् । नेपाल भित्र्याउँदा भन्सार लाग्छ सामानको मूल्य आखिर उस्तै पर्न जानेछ भन्ने गर्दछन् ।”

उनले नेपाल–भारत सीमामा दशकौँदेखि किसनमेलका लागि आवतजावत हुँदै आएकाले सीमामा भन्सार तिरेर भए पनि वातावरण सहज हुनुपर्नेमा जोड दिनुभयो । कञ्चनपुरस्थित सशस्त्र प्रहरी बल ३५ नं गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले कृषकका लागि मल ल्याउने विषयमा सहजीकरण गरिने भएपनि अन्यको हकमा भन्सार दाखिला नै गरेर मालसमान ल्याउनुपर्नेमा जोड दिनुभयो ।

“सीमामा भन्सार कडाइ गर्दा अहिले भन्सार दाखिला बढेको छ”, उहाँले भन्नुभयो, “पहिलेको जस्तो सीमावर्ती बजारमा आउने जाने क्रम पनि भन्सार क्षेत्रमा घटेको देखिन्छ ।” भारतबाट उपभोक्ताले रु १०० भन्दा बढीको मालसामान ल्याउँदा भन्सार लाग्ने विगतको व्यवस्थालाई कार्यान्वयन कडाइका साथ गर्दा नेपाल बजारमा व्यापारिक हिसाबले पनि चहलपहल बढेको उहाँको भनाइ छ ।

वनबासाबाट साइकलमा क्यारिङ गरेर मालसमान महेन्द्रनगर र आसपासका बजारसम्म पु¥याउने गतिविधि पनि बन्द भएको छ । “विवाह, व्रतबन्ध, आदि पूजाआजा तथा घरायसी प्रयोजनका लागि भन्दै सामान ल्याउने तर भन्सार दाखिला नगर्ने विगतको क्रियाकलाप अब हुनुहुँदैन”, उहाँले भन्नुभयो, “व्यापारिक हिसावलाई व्यवहारिक हो भन्न मिल्दैन ।” गड्डाचौकी भन्सारबाट दैनिक उपभोग्य सामानका साथै लत्ताकपडा, इलेक्ट्रिक सामानलगायतका हुने गरेको छ ।

नेपाल–भारत मैत्री सङ्घका महासचिव माधव जोशीले सीमामा भएको कडाइले केही समय नागरिकलाई असहज भएकोजस्तो देखिए पनि समग्रमा राज्यलाई फाइदा पुगेको बताउनुभयो । “भन्सार कडाइले नेपालतर्फ व्यापार बढ्नु र पारि प्रभावित हुनु स्वभाविक हो”, जोशीले भन्नुभयो “अहिलेको कडाइले नेपालमा उत्पादन भएका वस्तुको प्रयोग बढ्यो । स्वदेशी उत्पादले बजार पाउनु र कारोबार बढ्नु राम्रो हो ।”

उहाँले व्यापारका साथै स्वदेशमा रोजगारीसमेत बढ्ने भएकाले भन्सार कडाइलाई नियमनकारी निकायलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । “कोरोना महामारीका बेला पनि नेपाली वस्तु उपयोग गरेर जीवनयापन गरेकै हुन”, उहाँले भन्नुभयो, “अहिले भारतबाट आयात कम हुँदा भन्सारको राजस्वमा असर गरेपनि समग्रमा राज्यको राजस्व घट्दैन । विगतमा दैनिक उपभोग्य सामान घरका लागि ल्याउने नाममा भइरहेको तस्करी अहिले नियन्त्रण भएको छ ।”

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले भारतमा मजदुरी गरेर फर्किरहेका नेपाली नागरिकहरुलाई सीमामा कडाइका नाममा सास्ती दिन नहुने बताउनुभयो । “भारतमा मजुदरी गरेर फर्किरहेका दाजुभाइहरुसित पनि सर–सामानहरु हुन्छ, भन्सार दाखिलाका नाउँमा उहाँहरुले दुःख पाउनुहुँदैन ।” अध्यक्ष मल्लले भन्नुभयो, “क्यारिङ् गरेर सामान ल्याउने विषयमा पनि कडाइ गर्नुपर्ने देखिन्छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.