पाल्पामा जंगली च्याउ खाँदा २ जनाको मृत्यु, २ जनाको अवस्था गम्भीर

पाल्पा- पाल्पामा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका–५, ताहुँ ओमभन्ज्याङ नजिकैका ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चा रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
जंगली च्याउ खाएपछि बिरामी भएका उनीहरुको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसुधन भट्टराईका अनुसार खाम्चाको हिजो बुधबार र कामुको अस्ति मंगलबार मृत्यु भएको हो ।
यस्तै जंगली च्याउ खाँदा जिल्लामा दर्जनबढी बिरामी रहेका छन् । जसमध्ये तानसेन नगरभित्रका ८ वर्षीय बालक र रम्भास्थित ताँहुकी ५० वर्षीया महिलाको अवस्था गम्भीर रहेको छ ।
बालकोको लुम्बिनी मेडिकल कलेजको आइसियू र महिलाको युनाइटेड मिसन अस्पतालमा उपचार जारी रहेको सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो ।
यस्तै जंगली च्याउ खाएर बिरामी भएका माथागढी-३ कसेनीका चार जनालाई लुम्बिनी मेडिकल कलेजमा उपचारपछि कही दिन अघि डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
तानसेनको भालुवनका चार जना मिसन अस्पतालमा उपचाररत छन् ।
उता निस्दी-४ झ्याटुङ्गमा पनि जंगली च्याउ खाएपछि बिरामी भएका दुई जनाको भरतपुरस्थित अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।।





प्रतिक्रिया राख्नुहोस्