भारतको सहयोगमा मनाङमा अस्पताल भवनको शिलान्यास

काठमाडौँ – भारत सरकारको आर्थिक सहयोगमा मनाङको नासोँ गाउँपालिका–५ मा अस्पताल भवन निर्माण हुने भएको छ । सो भवनको शुक्रवार शिलान्यास गरिएको हो ।
काठमाडौँस्थित भारतीय दूतावासका नियोग उप–प्रमुख डा. राकेश पाण्डे र नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले संयुक्त रूपमा भवनको शिलान्यास गरेको राजदूतावासले जनाएको छ ।
भारत सरकारको करिब ५ करोड ६० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त अस्पताल भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण गरिन लागेको हो । परियोजना नासोँ गाउँपालिकामार्फत कार्यान्वयन हुनेछ ।
शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष गुरुङसहित स्थानीय सरोकारवालाहरूले भारत सरकारबाट प्राप्त विकास सहयोगप्रति आभार व्यक्त गरेका थिए । नयाँ अस्पताल भवन निर्माणपछि स्थानीयवासीलाई स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने विश्वास व्यक्त गरिएको छ ।
भारतीय राजदूतावासले नेपाल र भारतबिच व्यापक तथा बहु आयामिक सहकार्य रहँदै आएको उल्लेख गर्दै उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत नेपाल सरकारको विकास र समृद्धिको प्रयासमा भारतले निरन्तर सहयोग गर्दै आएको जनाएको छ ।





प्रतिक्रिया राख्नुहोस्