विश्वकप फुटबलः आज उद्घाटन

विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबलको २३ औ संस्करण आज अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा सुरु हुँदैछ । नेपाली समयअनुसार आज मध्यराति १२ः४५ बजे मेक्सिको र दक्षिण अफ्रिकाबीचको खेलसँगै फुटबलको महाकुम्भ सुरु हुनेछ ।
४८ टोली, १०४ खेल र ३९ दिनको रोमाञ्चक यात्रापछि विश्व फुटबलले नयाँ च्याम्पियन पाउनेछ । यस संस्करणमा विगतका प्रतियोगिताका तुलनामा धेरै देशहरु सहभागी हुने भएकाले फुटबल इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिता बन्नुका साथै संगीत र मनोरञ्जनको भव्य महोत्सवका रूपमा पनि नयाँ पहिचान स्थापित गर्ने तयारी गरिएको छ । प्रतियोगिता १६ शहरमा आयोजना हुँदैछ, जसमा अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ शहर समावेश छन् ।
पछिल्लोपटक अमेरिकाले सन् १९९४ मा विश्वकपको १५औं संस्करण आयोजना गरेको थियो । पहिलोपटक उद्घाटन कार्यक्रम एउटै शहरमा सीमित रहने नराखि आयोजक तीनवटै देशका शहरहरु मेक्सिको सिटी, टोरन्टो र लस एन्जलसमा छुट्टाछुट्टै समारोह गरिंदैछ । तीनवटै आयोजक राष्ट्रले आफ्नो संस्कृति, इतिहास र पहिचानलाई विश्वसामू प्रस्तुत गर्ने तयारी गरेका छन् । मेक्सिको सिटीमा हुने मुख्य उद्घाटन समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइला लगायतका अन्तर्राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिनेछन् ।
यसपटक स्कटल्यान्ड, नर्वे, मोरक्को, आइभोरी कोस्ट, इक्वेडर र सेनेगलजस्ता टोलीहरुलाई प्रभाव पार्नसक्ने नयाँ टोलीको रुपमा हेरिएको छ । त्यस्तै उज्वेकिस्तान, हाइटी, कुरासाओ र केप भर्डेजस्ता पहिलोपटक विश्वकप खेल्दै गरेका टोलीहरुले पनि विश्व फुटबलमा नयाँ कथा लेख्ने सपना बोकेर मैदान उत्रिनेछन् । विश्वकफ फुटबलको गत संस्करणको उपाधि अर्जेन्टिनाले जितेको थियो ।




प्रतिक्रिया राख्नुहोस्