गाउँपालिकाले बनाइदियो भेडापालक किसानलाई खोर

ढोरपाटन (बागलुङ)- निसीखोला गाउँपालिकाका अधिकांश किसान परम्परागत रुपमा भेडापालन गर्दै आएका छन् । एउटै परिवारले सयौँको सङ्ख्यामा भेडापालन गरे पनि व्यावसायिक बन्न सकेका छैनन् । किसानलाई व्यावसायिक बनाउन निसीखोला गाउँपालिकाले आधुनिकतासँग जोड्न थालेको छ । चालु आर्थिक वर्षमा भेडापालक किसानका लागि पालिकाले आधुनिक खोर बनाइदिएको छ ।

किसानले भेडालाई खोरमा नभई आकाशमुनि खुला छाड्ने गर्थेँ । खुला छाड्दा चिसोले मर्ने, विभिन्न रोग लाग्ने र चोरी हुने हुँदा किसानले नोक्सानी भोग्दै आएका थिए । यस वर्ष गाउँपालिकाले किसानका लागि आधुनिक खोर निर्माण, खानेपानीको व्यवस्थापन, औषधि खरिद र भेडाको बच्चा खरिदका लागि चालु आवमा रु एक करोड १२ लाख विनियोजन गरेको थियो ।

खोर निर्माण, खानेपानी र औषधि खरिदका लागि ठेक्का प्रक्रियामार्फत काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले जानकारी दिनुभयो । भेडाका बच्चा खरिदका लागि दुईपटकसम्म ठेक्का आह्वान गरे पनि कसैले दरखास्त नदिँदा काम रोकिएको उहाँको भनाइ छ ।

खोर र खानेपानी निर्माणका लागि रु ६२ लाख ९४ हजार ७५९ मा ठेक्का लगाई धमाधम काम भएको भन्दै रु १२ लाखमा औषधि खरिदसमेत भइसकेको प्रमुख प्रशासकीय अधिकृत पुन बताउनुहुन्छ । खोर निर्माण र खानेपानीका लागि २०८३ जेठ ६ मा टिएएस इन्जिनियरिङ एन्ड कन्सट्रक्सनले जिम्मा पाएको उहाँको भनाइ छ । सम्पूर्ण काम असार मसान्तमा सकिनुपर्ने पुनले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत पुनले भन्नुभयो, “निसीखोलामा धेरै किसान पशुपालनमा आबद्ध हुनुहुन्छ, त्यसमध्ये वडा नं ५ र ६ का अधिकांश स्थानीय भेडापालन गर्दै आउनुभएको छ, उहाँहरूलाई व्यावसायिक बनाउन गाउँपालिकाले यस वर्षदेखि सानो प्रयास गरेको हो, खानेपानी व्यवस्थापन र खोर निर्माण भएका छन्, अब अरु काम पनि गाउँपालिकाले गर्ने योजनामा छ ।”

टिएएस इन्जिनियरिङ एन्ड कन्सट्रक्सनका सञ्चालक रेशम अर्यालका अनुसार हालसम्म २२ वटा आधुनिक खोर निर्माण भइसकेका छन् भने खानेपानीको काम पनि अन्तिम चरणमा पुगेको छ । काठ, जस्तापाता र फलामको पोल प्रयोग गरेर खोर निर्माण गरिएको हो । सम्झौता भएको एक महिना नबित्दै ८५ प्रतिशत बढी काम सकिएको उहाँले बताउनुभयो । गोठालालाई पायक पर्नेगरी निसीखोला–६ कोस्का र चोरबासमा खानेपानी व्यवस्थापनका लागि पाइप बिछ्याउने काम भइरहेको उहाँको भनाइ छ ।

निसीखोला गाउँपालिका–६ का किसान भागीलाल घर्ती मगरले स्थानीय सरकारले किसानको समस्या समाधान गर्न थालेको बताउनुभयो । भेडाबाख्रालाई विगतदेखि नै लेकमै पुगेर खोप दिने गरे पनि यसपालि खोर र खानेपानीको सुविधा दिएको उहाँको भनाइ छ । एउटा खोर बनाउँदा किसानको रु चार–पाँच लाख खर्च हुने भन्दै गाउँपालिकाले अनुदानमा बनाइदिएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.