तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न

भक्तपुर- तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको एकमहिने मेला सम्पन्न भएको छ । भक्तपुरको दक्षिणतर्फ खरिपाटी, देकोचा, चाँगुनारायण मन्दिर र नगरकोट चारैतिरबाट पक्की सडक हुँदै पुग्न सकिने चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलधामस्थित उक्त मेला सोमबार सम्पन्न भएको हो ।
एकमहिने पुरुषोत्तम मेलामा सत्सग, प्रवचन, भजनलगायतको प्रतुतिसहित सोमबारदेखि एकमहिने मेला सम्पन्न भएको मेला आयोजना समितिका संयोजक गोकर्ण पुरीले जानकारी दिनुभयो । मेला व्यवस्थापन गर्न सिङ्गो गाउँ लागेको बताउँदै उहाँले स्थानीयस्तरबाटै महिना दिनसम्मका लागि प्रवचन र भजनकीर्तनको व्यवस्था, नारायणको पूजा/पुरुषोत्तम महात्म्य वाचन, यहाँ आउने दर्शनार्थीलाई सहज पूजा गर्ने व्यवस्था गरिएको बताउनुभयो । भक्तपुरका चारवटै नगरपालिका, काठमाडौँ, ललितपुर, साँखु, मूलपानी, काभ्रेपलाञ्चोकलगायत विभिन्न ठाउँका दर्शनार्थीको मन्दिरमा आगमन भएको थियो ।
मन्दिरको संरक्षकसमेत रहेका पुरीले भन्नुभयो, “यो ३०० वर्ष पुरानो मन्दिर हो, दुई पीपलको बोटको बीचमा रहेको मन्दिर भत्किएपछि पुनःनिर्माण गरिएको हो, यसको शिलालेख पुरिएकाले उत्खनन् र अध्ययन गर्नुपर्ने देखिन्छ, १०० पुरानो पुजाको थाली भने अझै पनि छ, मन्दिरको संरक्षणमा यहाँका बासिन्दा सबै जुटेपछि अहिले यो मन्दिर वर्षभरि नै आन्तरिक पर्यटकको केन्द्र बनेको छ ।”
स–साना तीन खोलाको सङ्गमस्थलमा रहेको यस मन्दिरलाई त्रिवेणी धामका नामले चिनिने गरिन्छ । मन्दिर संरक्षणसँगै ६४ शिवलिङ्ग, सप्तऋषिको मन्दिर, कृष्ण वर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर र कुण्डसमेत रहेको यस मन्दिर परिसरमा मलमासमा ५० हजारभन्दा बढी दर्शनार्थीको आगमन हुने तथा यसले आन्तरिक पर्यटनको विकासमा टेवा पुग्ने विश्वास रहेको बताउनुभयो ।
यहाँको कुण्डमा स्नान गरेमा छालालगायत विभिन्न रोग नाश हुने जनविश्वास रहँदै आएको छ । मच्छेनारायण मन्दिर परिसरमा रहेको श्रीकृष्णवर्तेश्वर महादेव मन्दिर परिसरमा एउटै विशाल ढुङ्गाबाट निर्माण गरिएको २५ हजार ७७७ किलोग्रामको गीताचार्य श्रीकृष्ण भगवाणको विराट स्वरुप श्रीमूर्तिको यसै वर्ष स्थापना गरिएपछि यहाँको धार्मिक महत्व र आकर्षण अझै बढेको वडाध्यक्ष जयन्द्र खड्काले बताउनुभयो ।
ख्यो पुखमा एकमहिने मेला सम्पन्न
यसैगरी, भक्तपुर नगरपालिका–६ स्थित अंचा पोखरी (ख्यो पुखु) मा लागेको एकमहिने मेला सोमबारदेखि सम्पन्न भएको छ । सोमबार नै एकमहिने मत्स्यनारायण अर्थात् पुरुषोत्तम मलमास मेला सम्पन्न भएको हो ।
यस मन्दिरमा पनि एक महिनासम्म नारायणको पूजा, पुरुषोत्तम महात्म्य वाचन गरिने  र यहाँका कुण्डमा स्नान गरी मन्दिरमा दर्शन गरे रोगव्याधि नष्ट हुने, पापकर्म नष्ट हुने जनविश्वास रहँदै आएकाले भक्तपुर नगरका बासिन्दाले यहाँ पूजा, दर्शन एवं स्नान गरेको मेला व्यवस्थापन समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.