धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच
बेनी (म्याग्दी)- अग्लाअग्ला भिरपाखा । कठिन पहाडी भूगोल । विकासको आधारभूत सुविधा नभएका बस्ती । एक गाउँबाट अर्को गाउँ पुग्न घण्टौँसम्म उकालोओरालो हिँड्नुपर्ने बाध्यता । विगतका वर्षहरूमा म्याग्दीको धवलागिरि गाउँपालिकाको चिनारी यस्तै दुर्गम र विकट भूगोलको सङ्घर्षका कथाबाट हुने गर्थ्यो । तर समयसँगै त्यो चित्र फेरिँदै गएको छ । सडक पूर्वाधारको विस्तारसँगै धवलागिरिका दुर्गम गाउँबस्तीमा विकासका सुविधा उक्लन थालेका छन् ।
सडक यातायातको क्षेत्रमा गाउँपालिकाले हासिल गरेको उपलब्धिले वर्षौँदेखि दुर्गम र विकटताको पहिचान बोकेका बस्तीलाई क्रमशः सहज पहुँचको सुविधामा ल्याउन थालेको छ । धवलागिरि गाउँपालिका–१ गुर्जामा सडक सञ्जालको पहुँच पुगेसँगै म्याग्दीका ४५ वटै वडामा सडक सञ्जालको पहुँच विस्तार भएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।
“यो वर्षमात्रै गुर्जामा सडकको पहुँच पुर्याउन सफल भयौँ, अब यसलाई स्तरोन्नति गरेर नियमित सञ्चालन हुने सडक बनाउनेतर्फ पहल थालेका छौं, सडक निर्माणले स्थानीयलाई यातयातको सुविधा दिएको छ, सँगै गाउँमा हुने कृषि र पशुजन्य उत्पादनको बजारीकरणमा समेत सघाउने विश्वास लिएका छौँ”, अध्यक्ष पुनले भन्नुभयो । विसं २०७९ मा भएको स्थानीय तह निर्वाचनसम्म मुना र खोरियाको बीचमा पर्ने मतलाको अक्करे भिरमा रोकिएको सडकलाई गाउँपालिकाले प्राथमिकताका साथ अघि बढाएर लुलाङ हुँदै गुर्जामा सडक पुगेको हो ।
प्रदेश र सङ्घीय सरकारका साथै गाउँपालिकाबाट प्राथमिकताका साथ बजेट विनियोजन भएपछि वडा नं २ लुलाङदेखि गुर्जासम्मको करिब २२ किलोमिटर लामो सडकको ट्याक निर्माणले पूर्णता पाएको गाउँपालिका अध्यक्ष पुनले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०÷८१ देखि लुलाङबाट गुर्जा जोड्ने सडक निर्माण सुरु भएको थियो । पहिलो वर्ष सङ्घ, प्रदेश र स्थानीय सरकारको रु दुई–दुई करोड साझेदारीमा रु छ करोड, दोस्रो वर्ष सङ्घ र स्थानीय सरकारको रु ३५–३५ लाख गरी रु ७० लाख र चालु आवमा सङ्घीय सरकारको रु एक करोड ४० लाख तथा स्थानीय सरकारको रु ३५ लाख गरी रु एक करोड ७५ लाख बजेटलाई ठेक्कामार्फत परिचालन गरेर गुर्जालाई सडक सञ्जालमा जोडिएको गाउँपालिकाले जनाएको छ ।
सडक सञ्जालको पहुँच नहुँदा गुर्जाबाट गाउँपालिकाको केन्द्र मुना आउन सर्वसाधारणले एक दिनको पैदलयात्रा गर्नुपर्ने बाध्यता थियो । अहिले सडक सुविधाले पालिकाको सेवा लिन गाउँपालिका आएका नागरिक एकैदिनमा घर फर्कन सक्ने सुविधा भएको छ । गुर्जा जोड्ने सडकमा पर्ने लमसुङस्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माण सुरु गरेको छ ।
गाउँपालिकाभित्र पछिल्लो चार वर्षको अवधिमा भएका भौतिक पूर्वाधारमध्ये सडक सञ्जालको पहुँच निर्माण सबैभन्दा ठूलो उपलब्धिको रूपमा रहेको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले जानकारी दिनुभयो । उहाँका अनुसार यस अवधिमा महतलाको भिरमा रोकिएको सडक लमसुङ, लुलाङ हुँदै गुर्जा, मरेनीदेखि पर्यटकीयस्थल जलजला–गुर्जाघाट हुँदै ढोरपाटन सडक सञ्जालमा जोडिएका छन् । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको ‘लाइफलाइन’ मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक काठमाडौँ र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वीरुकुम जोड्ने छोटो दूरीको सडक पनि हो ।
चालु आवमा सङ्घीय सरकारले विनियोजन गरेको रु पाँच करोड बजेटबाट सडक डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको योजनामार्फत म्याग्दीको धवलागिरि–२ मरेनीदेखि ढोरपाटनको जलजलासम्म सडकको ट्याक निर्माण भएको हो । वडा नं ४ मुदीमा निर्माणाधीन जलविद्युत् आयोजनामार्फत खिबाङ, बगर, दोभान, चेचुङलगायत बस्तीमा सडक सञ्जालको पहुँच पुगेको छ भने नेरवाङ बस्तीमा सडक विस्तार भइरहेको छ ।
मुदीको बगर फेदीबाट सिङ्कोस बगरमा र मल्कबाङदेखि भेडिखाल्टा बस्तीमा सडक सञ्जालको पहुँच पुर्याउन बाँकी छ । चालु आवमा गाउँपालिकाबाट विनियोजन भएको रु ३० लाख बजेटबाट सडकको ट्याक निर्माण भए पनि भेटिखाल्टामा सडकको ट्याक जोडिएको छैन । पालिकाले माग गरेबमोजिम सङ्घीय सरकारबाट आगामी वर्षका लागि सङ्घीय समपूरक कोष् अन्तर्गत रु ८५ लाख बजेट विनियोजन भएकाले आगामी वर्ष भेडिखाल्टामा सडकको पहुँच पुग्ने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।
पहाडी जटिल भूगोलको चुनौतीका बीच यस वर्ष धवलागिरिका अधिकांश गाउँबस्तीमा सडक सञ्जालको पहुँच विस्तार हुनुले यस पालिकाका स्थानीयमा विकासप्रतिको सकरात्मक धारणाको विकास गराएको छ । पहिले पैदलयात्रामा निर्भर रहनुपर्ने स्थानीय अहिले गाउँसम्मै सडक पुगेपछि दैनिक जीवन, कृषि उत्पादनको ढुवानी, स्वास्थ्य सेवा तथा शिक्षाजस्ता आधारभूत सेवामा सहजता अनुभव गर्न थालेका छन् । सडक पुगेसँगै दुर्गम बस्ती विकास र समृद्धिको मूलधारसँग जोडिने क्रमले गति लिएको छ । कुनै समय दुर्गमताको पर्याय मानिने धवलागिरिमा आज सडक सञ्जाल विस्तारमार्फत सर्वसाधारणलाई परिवर्तनको आभास दिलाएको छ । गाउँगाउँमा पुगेको सडकले स्थानीयको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनुका साथै विकासका सम्भावनाका नयाँ ढोका पनि खोलिदिएको छ ।






प्रतिक्रिया राख्नुहोस्