कर्णालीमा पानीको बहाव बढेपछि डुबेको गाडी उद्धारमा कठिनाइ

दैलेख: कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाइ भएको छ ।

नदीमा जलसतह बढेको र गाडी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कप्र ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी आज बिहान ११ः३० बजेको समयमा चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ दैलेखको साङ्गेतडास्थित कर्णाली नदीमा खसेको थियो

उक्त स्थानबाट नामथरवतन नखुलेका एक जना पुरुषलाई भिरमा अड्केको अवस्थामा उद्धार गरिएको प्रहरी नायब उपरीक्षक विकले जानकारी दिनुभयो

उद्धारका सामग्रीसहित जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेसका जनशक्तिले संयुक्त रूपमा खोज उद्धारको कार्य गरिरहेका उहाँले बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक विकका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटासहित गोताखोरको टोली सुर्खेतबाट घटनास्थलतर्फ हिँडिसकेको छ ।

सुर्खेत बसपार्कबाट आज बिहान ८ बजे छुट्दा पाँच जना सवार रहेको भनिए पनि गाडीमा कति जना थिए भन्ने यकीन नभएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार गाडी ४०० मिटर तल खस्दा कर्णाली नदीमा डुबेको अनुमान गरिएको छ ।

गाडी डुबेको स्थान प्रहरीचौकी दैलेख पाल्तडाबाट तीन किलोमिटर उत्तरतर्फ र जिप्रका दैलेखबाट ५० किलोमिटर पश्चिमतर्फ पर्दछ ।

भौगोलिक अवस्था जटिल भएकाले घटनास्थलका बारेमा थप विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.