क्यानडामा पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ- क्यानडामा आकर्षक रोजगारी दिलाइदिने प्रलोभन देखाएर २६ जना युवायुवतीबाट करिब २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा पूर्वमाओवादी लडाकु कमान्डर लहानु चौधरी पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौं महानगरपालिका–१५, चन्द्रागिरि–५ बाट पक्राउ गरेको हो। कैलाली घर भएका चौधरी लामो समयदेखि फरार रहेका थिए।
प्रहरीका अनुसार चौधरीले क्यानडामा राम्रो रोजगारीको आश्वासन दिँदै पीडितहरूबाट प्रतिव्यक्ति ४ लाखदेखि १७ लाख रुपैयाँसम्म रकम उठाएका थिए। रकम बुझाए पनि विदेश जान नपाएपछि पीडितहरूले पैसा फिर्ताको माग गरेका थिए।
पीडितहरूलाई दिइएको चेकसमेत बाउन्स भएपछि उनीहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए। विभागको अनुरोधपछि प्रहरीले चौधरीको खोजी तीव्र बनाएको थियो।
प्रहरीले पक्राउ परेका चौधरीलाई आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाउने तयारी गरेको जनाएको छ।
प्रारम्भिक बयानमा चौधरीले आफूले सञ्चालन गरेको म्यानपावर कम्पनी बन्द भएका कारण रकम फिर्ता गर्न नसकेको र ठगी गर्ने नियत नभएको दाबी गरेका छन्। तर प्रहरीले घटनाको सबै पक्षबाट अनुसन्धान जारी रहेको जनाएको छ।
यस घटनाले वैदेशिक रोजगारीका नाममा हुने ठगीप्रति सचेत रहन र आधिकारिक प्रक्रियामार्फत मात्रै विदेश जान सम्बन्धित निकायले पुनः आग्रह गरेका छन्।






प्रतिक्रिया राख्नुहोस्