सञ्चारगृह बाहिर शंकास्पद सवारी साधन राखिएकोप्रति रास्वपाको ध्यानाकर्षण
प्रेस स्वतन्त्रतामाथि कुनै पनि दबाब स्वीकार्य छैन : रास्वपा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
स्वतन्त्र रूपमा काम गर्ने सञ्चारमाध्यम र सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले गरिएका यस्ता शंकास्पद गतिविधि लोकतान्त्रिक मूल्य-मान्यता विपरीत भएको ठहर रास्वपाको छ ।
रास्वपा महामन्त्री विपिन कुमार आचार्यले आज जारी गर्नुभएको विज्ञप्तिमा राज्यको चौथो अंगका रूपमा स्थापित सञ्चारमाध्यममाथि कुनै पनि प्रकारको दबाब वा त्रास सिर्जना गर्ने कार्य अस्वीकार्य रहेको उल्लेख गर्दै पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा पार्टी सधैं दृढतापूर्वक उभिएको उल्लेख छ ।
महामन्त्री आचार्यले कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रतामा हस्तक्षेप गर्न, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्न वा चौथो अंगलाई संकुचित पार्ने उद्देश्यले गरिने गतिविधिलाई स्वीकार गर्न नसकिने विज्ञप्तिमार्फत स्पष्ट पार्नुभएको छ ।
रास्वपाले घटनाको तत्काल निष्पक्ष र सत्यतथ्य छानबिन गर्न, सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न तथा यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई पहिचान गरी कानुनबमोजिम कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायसँग माग गरेको छ।।







प्रतिक्रिया राख्नुहोस्