बाढीले दुई घर र एक विद्यालयमा क्षति, विभिन्न सडक अवरुद्ध

हिमलाल न्यौपाने, स्याङ्जा-तीन दिनदेखि निरन्तर परेको अविरल वर्षाका कारण स्याङ्जाका विभिन्न स्थानमा बाढी र पहिरोले जनजीवन प्रभावित बनेको छ। बाढी घर तथा विद्यालयमा पसेर क्षति पुर्याउनुका साथै जिल्लाका विभिन्न सडकहरू पनि अवरुद्ध भएका छन् ।

गल्याङ नगरपालिका–६ पिडीखोलामा युवराज सुवेदी र गोपाल सुवेदीको घरमा बाढी पस्दा घरभित्र रहेका सामग्रीमा क्षति पुगेको छ। सोही स्थानस्थित नरोदय माध्यमिक विद्यालयमा पनि बाढी पस्दा विद्यालयको भौतिक संरचना तथा शैक्षिक सामग्रीमा क्षति पुगेको स्थानीयले बताएका छन् ।

निरन्तरको वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा सिद्धार्थ राजमार्गअन्तर्गत जैसिडाँडा क्षेत्र, वालिङ–पर्वत सडक, वालिङ–चापाकोट सडक तथा पुतलीबजार–बिरुवा सडकका विभिन्न खण्ड अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा यात्रु तथा सवारी साधन आवागमनमा समस्या भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार वर्षा अझै नरोकिएकाले नदी, खोलानाला तथा पहिरोको जोखिम रहेका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ। सम्बन्धित निकायले अवरुद्ध सडक खुलाउने तथा प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन गर्ने कार्य जारी राखेको जनाएको छ।






प्रतिक्रिया राख्नुहोस्