लोकतन्त्र, संविधान र राष्ट्रिय एकताका पक्षमा उभिन पूर्व प्रधानमन्त्री देउवाको आह्वान
छिटै नेपाल फर्कने देउवाको भनाइ
काठमाडौँ- नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा रहेका बेला जननायक बिपी कोइरालाको स्मृति दिवसका अवसरमा दुई पृष्ठको सन्देश जारी गर्दै लोकतन्त्र, संविधान, राष्ट्रियता, राष्ट्रिय एकता र नागरिक अधिकारको रक्षाका लागि सबै राजनीतिक शक्ति, नागरिक समाज, युवा तथा आम नेपाली एकजुट हुन आह्वान गर्नुभएको छ।
देउवाले जननायक बिपी कोइरालालाई नेपालको प्रजातान्त्रिक आन्दोलनका महान् नेता, राष्ट्रिय मेलमिलापका प्रवर्तक तथा नेपाली कांग्रेसका सर्वोच्च प्रेरणास्रोतका रूपमा स्मरण गर्दै उहाँको राष्ट्रियता, प्रजातन्त्र र समाजवादमा आधारित विचार आज पनि नेपालको राजनीतिक यात्राका लागि मार्गदर्शक रहेको उल्लेख गर्नुभएको छ।
बिपीको नेतृत्वमा राजनीतिक यात्रा सुरु गर्ने अवसर आफ्नो जीवनको सबैभन्दा ठूलो सौभाग्य भएको उल्लेख गर्दै उहाँले लोकतान्त्रिक संस्कार, जनताको सर्वोच्चता र राष्ट्रिय हितप्रतिको बिपीको विश्वासले आफ्नो राजनीतिक जीवनलाई निरन्तर मार्गदर्शन गरेको बताउनुभएको छ।
सन्देशमा देउवाले नेपाली कांग्रेसले विगतमा निरंकुशता, अधिनायकवाद र लोकतन्त्रविरोधी शक्तिविरुद्ध संघर्ष गर्दै शान्ति प्रक्रिया, संविधान निर्माण, २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण तथा कोभिड-१९ महामारीलगायतका राष्ट्रिय संकटमा जिम्मेवार भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ।
देउवाले पछिल्लो राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अघि बढाएको, स्वतन्त्र न्यायपालिका, संवैधानिक निकाय तथा लोकतान्त्रिक संस्थामाथि दबाब सिर्जना गर्ने संकेत देखिएको उल्लेख गर्नुभएको छ।
नेता देउवाले नेपाली कांग्रेसले अब केवल प्रतिपक्षको भूमिकामा सीमित नरही लोकतन्त्र, संविधान, राष्ट्रियता र नागरिकको सुरक्षा तथा भविष्यको रक्षाका लागि ऐतिहासिक जिम्मेवारी पूरा गर्ने बताउनुभएको छ।
विभाजन, प्रतिशोध र असहिष्णुताको राजनीतिभन्दा माथि उठेर राष्ट्रिय संवाद, सहकार्य, विश्वास र साझा संकल्पमार्फत देशलाई अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ।
राष्ट्रिय मेलमिलापको नीतिलाई अहिलेको राजनीतिक परिस्थितिमा अझ बढी सान्दर्भिक रहेको उल्लेख गर्दै देउवाले सामाजिक न्याय, समानता, समावेशिता, सुशासन, आर्थिक समृद्धि र राष्ट्रिय स्वाभिमानलाई कांग्रेसको मूल मार्गदर्शक सिद्धान्तका रूपमा अघि बढाइने बताउनुभएको छ। साथै, परिवर्तनको ऊर्जा, प्रविधि र नयाँ पुस्ताको सिर्जनशीलतालाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्ने आवश्यकता पनि उहाँले औंल्याउनुभएको छ।
लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता र सामाजिक सद्भावको पक्षमा सबै नेपालीलाई एकताबद्ध हुन आग्रह गर्दै नेता देउवाले आफू नेपाल फर्कन लागेको उल्लेख गर्नुभएको छ ।।








प्रतिक्रिया राख्नुहोस्