एफएनजे ग्लोबल पत्रकारिता पुरस्कार स्थापना गरिने

काठमाडौँ- नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको अवसरमा जापानको टोकियोमा आयोजित एफएनजे ग्लोबल मिडिया सम्मेलनले विदेशमा कार्यरत नेपाली पत्रकारलाई सम्मान गर्न ‘एफएनजे ग्लोबल पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय गरेको छ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको समन्वय, नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा तथा महासंघका सबै वैदेशिक शाखा, नेपाल अमेरिका पत्रकार संघ र नेपाल अस्ट्रेलिया पत्रकार संघको सहकार्यमा सम्पन्न सम्मेलनले ९ बुँदे ‘टोकियो घोषणापत्र–२०२६’ जारी गर्दै उक्त निर्णय गरेको हो।

सम्मेलनले प्रवासमा रहेका नेपाली पत्रकारको ज्ञान, सीप र अनुभवलाई नेपालको पत्रकारिता विकासमा उपयोग गर्ने, डिजिटल माध्यमबाट सदस्यता व्यवस्थापन प्रणाली विकास गर्ने तथा वैदेशिक शाखाका सदस्यको संस्थागत सहभागिता थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।
घोषणापत्रमा वैदेशिक शाखाका सदस्यलाई नेपाल पत्रकार महासंघमा चुन्ने र चुनिने अधिकार सुनिश्चित गर्न विधान संशोधनको पहल गर्ने तथा वैदेशिक शाखाको प्रभावकारी समन्वयका लागि संगठनात्मक पुनर्संरचना गरी केन्द्रीय समितिमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ।।






प्रतिक्रिया राख्नुहोस्