मृतक बालिका चौधरीका आमा–बुबासँग गृहमन्त्रालयमा छलफल

काठमाडौँ- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीय बालिका गरिमा चौधरीका आमा–बुबासँग गृहमन्त्रालयमा छलफल भएको छ ।
पाँच दिनसम्म आन्दोलन गर्दा पनि स्थानीय तहमा वार्ता सम्भव नभएको भन्दै मृतक बालिकाका बुबाआमा सहितको टोली गृहमन्त्री सुधन गुरुङसँग वार्ता गर्न भन्दै आजै सिमरावाट काठमाडौँ आएको हो ।
उता तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको पाँच दिनपछि पक्राउ परेकाको घर समेत प्रहरीले खानतलासी गरेको छ । इलाका प्रहरी कार्यालय सिमराले थप छानविनका लागि पक्राउ परेका प्रोग्रेस चौधरीको घर खानतलासी गरेको हो ।
स्थानीयले गरिमाको हत्या भएको घर प्रोग्रेस चौधरीकै रहेको दाबी गर्दै खानतलासी गर्नुपर्ने बताउँदै आएका थिए । घटनामा संलग्न रहेको भन्दै पिडित परिवारले अहिलेसम्म ६ जना विरुद्ध जाहेरी दिएका छन् । बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयले आज पनि वीरगन्ज–पथलैया सडकखण्ड अवरुद्ध गरेका छन् ।
यसअघि बिहीबार राति स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधि तथा जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको उपस्थितिमा आन्दोलनरत पक्षसँग पाँच बुँदे सहमति भए पनि गरिमाको परिवारले सो सहमतिमा आफ्नो सहभागिता र सहमति नरहेको भन्दै आन्दोलनलाई निरन्तरता दिँदै आएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्