पहिरो प्रभावित बस्तीको स्थलगत निरीक्षणमा सञ्चारमन्त्री तिमिल्सिना

नुवाकोट– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नुवाकोटका विभिन्न स्थानमा गएको पहिरो तथा त्यसबाट प्रभावित बस्तीको स्थलगत निरीक्षण गर्नुभएको छ ।
नुवाकोट क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका सञ्चारमन्त्री तिमिल्सिनाले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पञ्चकन्या, शिवपुरी र लिखु गाउँपालिकाका विभिन्न स्थानमा भदौ ४ र ५ गते राति परेको अविरल वर्षाका कारण भएको क्षतिको अवस्थाबारे जानकारी लिनुभएको हो ।
निरीक्षणका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले पहिरो प्रभावित बस्तीका स्थानीयवासीसँग भेटघाट तथा अन्तरक्रिया गरी उहाँहरूको अवस्था, समस्या र आवश्यकताबारे जानकारी लिनुभयो । प्रभावित परिवारले पहिरोको जोखिमका कारण घरमा फर्केर बस्न सक्ने अवस्था नरहेको भन्दै सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।
सञ्चारमन्त्री तिमिल्सिनाले स्थानीय सरकार र स्थानीय प्रशासनमार्फत भइरहेको उद्धार, राहत तथा व्यवस्थापनको अवस्थाबारे जानकारी लिनुभयो । उहाँले तत्कालीन राहत तथा व्यवस्थापनसँगै पहिरोको जोखिममा रहेका बस्तीको दीर्घकालीन व्यवस्थापन आवश्यक रहेको बताउनुभयो ।
“प्रभावित क्षेत्रमा स्थानीय प्रशासनमार्फत उद्धार, राहत र व्यवस्थापन लगायतका कामका जानकारी लिएका छौं ।पहिरोको जोखिमको जतिसक्दो चाँडो प्राविधिक अध्ययन गरेर बसोबासका लागि उपयुक्त भए–नभएको यकिन गर्नका लागि पहल हुनेछ´´, उहाँले भन्नुभयो ।
उहाँले जोखिमयुक्त बस्ती बसोबासका लागि अनुपयुक्त देखिएमा सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने र त्यसका लागि संघीय सरकारका तर्फबाट आवश्यक सहजीकरण गरिने बताउनुभयो ।
स्थलगत निरीक्षणका क्रममा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले सञ्चारमन्त्री तिमिल्सिनासहित जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवालालाई वडा नं. ३, ४ र ५ का विभिन्न स्थानमा गएको पहिरो तथा त्यसबाट भएको क्षतिको अवस्थाबारे जानकारी गराउनुभयो ।
भदौ ४ गते राति परेको अविरल वर्षाका कारण पञ्चकन्या गाउँपालिका–४ स्थित बोकेडाँडामा ११ घरपरिवार बसोबास गर्दै आएको बस्ती जोखिममा परेको छ । पहिरोका कारण बस्ती जोखिममा परेपछि प्रभावित परिवारले घर फर्केर बस्न सक्ने अवस्था नरहेको बताउँदै बस्ती नजिकै सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउन माग गरेका छन् ।
सञ्चारमन्त्री तिमिल्सिनाले प्रभावित परिवारको माग र अवस्थाबारे स्थानीय तथा जिल्लास्थित विपद् व्यवस्थापन समितिसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइने बताउनुभयो । प्राविधिक अध्ययनका आधारमा जोखिमको अवस्था पहिचान गरी प्रभावितको सुरक्षित बसोबासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य गरिने उहाँको भनाइ थियो ।
निरीक्षणका क्रममा तिमिल्सिनाले प्रभावित बस्तीको भौगोलिक अवस्था, पहिरोबाट भएको क्षति तथा स्थानीयवासीको तत्कालीन आवश्यकताबारे समेत जानकारी लिनुभएको छ ।






प्रतिक्रिया राख्नुहोस्