बाढी प्रभावितको उद्धार, उपचार र राहत वितरणमा तीव्रता

रसुवा- भोटेकाशी नदीको विनासकारी बाढीपछि प्रभावित क्षेत्र स्याफ्रुबेँसी र टिमुरेबाट उद्धार गरी ल्याइएका ५१ जना घाइतेको अहिले रसुवा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

बाढीबाट गम्भीर घाइते भएका २२ जनालाई भने थप उपचारका लागि काठमाडौँका विभिन्न अस्पतालमा ‘रेफर’ गरिएको रसुवा अस्पतालका प्रमुख एवं मेडिकल सुपरिटेन्डेन्ट डा अमित प्रजापतिले जानकारी दिनुभयो ।

सूचना अधिकारीको समेत जिम्मेवारीमा रहनुभएका रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार स्याफ्रुबेँसी र टिमुरेबाट उद्धार गरिएका ५७० जनामध्ये आर्थिक अवस्था कमजोर भएका ६० जनालाई धुन्चेवासीको सहयोगमा स्थानीय गुम्बामा खानाको व्यवस्था गरिएको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा श्यामकुमार साहले जिम्मेवारीमा खटिएका नेपाली सेनाका ४४ जना र निकुञ्जका तीन कर्मचारी अकल्पनीय बाढीपछि सम्पर्कविहीन अवस्थामा रहेको जानकारी दिनुभयो । त्यसैगरी, सशस्त्र प्रहरी बलका १३ जना र नेपाल प्रहरीका २८ जनाको अवस्था अहिलेसम्म अज्ञात रहेको छ ।

प्राप्त प्रारम्भिक विवरणअनुसार टिमुरेबाट हल्का सवारी चालक २० जना र डिब्बाजडित समान ढुवानी गर्ने ठूला गाडी चालक सात जना सम्पर्कविहीन अवस्थामा रहेको सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो ।

यसैबीच, नेपाल–चीनको नाकास्थित रसुवागढीबाट करिब १४ किलोमिटर पूर्वउत्तरतर्फको हिमाली क्षेत्रमा रहेको ताल भरिएर पानी बाहिरिन थालेको खबर बाहिरिएसँगै सावधानी अपनाउन अनुरोध गरिएको भए पनि आज भोटेकोशी नदीको जल सतह नबढेको उद्धारमा संलग्न स्थानीय सुरक्षाकर्मीले जानकारी दिनुभएको छ ।

तिब्बततर्फको हिमताल भरिएर पानी बाहिरिन थालेपछि स्थानीय ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा पुनः बाढी आउने आशङ्काका बीच नदी तटीय क्षेत्रका जनतालाई सतर्क रहन अनुरोध गरिएकामा स्थानीय खोला तथा नदीको जलसतह साविकै अवस्थामा रहेको उहाँहरूको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.