बाढी प्रभावित बालबालिकालाई गैरकानुनी ओसारपसार नगर्नु

काठमाडौं – महिला, बालबालिका मन्त्रालयले भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत त्रिशूली नदी आसपासका विपद् संकटग्रस्त क्षेत्रबाट बाबुआमा गुमाएका तथा घरबारविहीन भई अस्थायी संरक्षण आवश्यक भएका बालबालिकालाई गैरकानुनी रूपमा ओसारपसार नगर्न आग्रह गरेको छ।
मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सम्बन्धित स्थानीय तहका बालकल्याण अधिकारीको सिफारिस र राष्ट्रिय बालअधिकार परिषद्को अनुमति बिना कुनै पनि व्यक्ति वा संस्थाले त्यस्ता बालबालिकालाई एक स्थानबाट अर्को स्थानमा लैजान नहुने जनाएको हो।
नेपालको संविधानमा उल्लिखित बालबालिकाको मौलिक हक, बालबालिका सम्बन्धी ऐन, २०७५ तथा बालबालिका सम्बन्धी नियमावली, २०७८ लगायत बालसंरक्षणसम्बन्धी मापदण्डविपरीतका गतिविधि हुन नदिन मन्त्रालयले सरोकारवाला सबैलाई सचेत गराएको छ।
मन्त्रालयले विपद्पछिको संवेदनशील अवस्थामा महिला तथा किशोरीमाथि हुन सक्ने विभिन्न किसिमका हिंसा र मानव बेचबिखनका घटना रोक्न स्थानीय प्रशासन, नेपाल प्रहरीका विभिन्न युनिट, स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित संघसंस्थालाई समेत विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव चक्रबहादुर बुढाद्वारा जारी सूचनामा बाढी प्रभावित तथा संरक्षण आवश्यक भएका बालबालिकाको सुरक्षा र अधिकार सुनिश्चित गर्न सम्बन्धित सबै निकायले समन्वयमा काम गर्न आग्रह गरिएको छ।







प्रतिक्रिया राख्नुहोस्