टनेलमा फसेकाको खोज तथा उद्धार कार्य तीव्र

काठमाडौँ- रसुवामा आएको बाढीबाट प्रभावित बनेका जलविद्युत आयोजनाका टनेलमा खोज तथा उद्धार कार्य जारी राखिएको छ । यसक्रममा रसुवागढी जलविद्युत आयोजनामा सेना तथा आयोजनाको प्रतिनिधि सहित २७५ मिटरसम्म पुगी खोजी कार्य भइरहेको र हेभी मेशिन एक्सकाभेटर मार्फत उद्धार कार्यलाई थप तीव्रता दिइएको नेपाली सेनाले जनाएको छ ।
सेनाका अनुसार लाङटाङ हाइड्रोमा विदेशीसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी खोजी कार्य भइरहेको छ । चिलिमेमा विदेशीसहितको संयुक्त टोली १५० मिटरमा पुग्दा टनेल बन्द भएको अवस्थामा फेला परेकोले त्यसलाई छिचोल्ने प्रयास गरिएको छ । यस्तै,अपर त्रिशूली-१ मा संयुक्त खोज उद्धार टोलीले टनेलको मुख ढुङ्गाले छेकिएको अवस्थामा रहेकोले भित्र छिर्ने प्रयास भइरहेको र हाकु बेसीमा विदेशीसहितको संयुक्त टोलीले खोजी कार्य गर्दा हालसम्म केही फेला नपरेको जनाइएको छ ।
त्रिशूली-3A मा नेपाली सेना सहितको ९३ जनाको संयुक्त उद्धार टोलीले ४ वटा स्काभेटर र एक बब्क्याटबाट माटो पन्छाई ब्लाष्टिङ्ग कार्य पश्चात् टनेलको प्रवशेमा लेदो भरिएको हुँदा माटो फाल्ने र चट्टान ब्लाष्टिङ्गको कार्य भइरहेको सेनाले जनाएको छ ।
त्रिशूली-3B मा नेपाली सेनाको ६१, गैर सैनिक ३ र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरी बब्क्याट सहित क्याम्प क्षेत्रको पहिचान तथा खोजी कार्य भइरहेको छ ।
नेपाली सेनाद्वारा हवाई साधनमार्फत विभिन्न बाढी प्रभावित इलाकाहरूबाट ३४ जनाको उद्धार गरेको छ। साथै हालसम्म नेपाली सेनाले हवाई साधनमार्फत २७३ जना विदेशी सहित जम्मा ३,९२५ जनाको उद्धार गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।।






प्रतिक्रिया राख्नुहोस्