त्रिशूली–थ्री ‘ए’बाट उद्धार गरिएका दुवै कर्मचारीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं -बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका नेपाल विद्युत् प्राधिकरणका दुई कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
ऊर्जामन्त्रीको सचिवालयका अनुसार आज बिहान जीवितै उद्धार गरिएका दुवै कर्मचारीको हाल काठमाडौंको छाउनीस्थित वीरेन्द्र अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।
माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङबाट आज बिहान नेपाल विद्युत् प्राधिकरणका कर्मचारी सञ्जय साह र कबिर महर्जनलाई जीवितै उद्धार गरिएको थियो। उद्धार गरिएका दुवै जनालाई प्रारम्भिक उपचारपछि काठमाडौं ल्याइएको हो।
भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको बाढी र पहिरोपछि माथिल्लो त्रिशूली–३ ‘ए’ को भूमिगत विद्युत्गृहमा कार्यरत कर्मचारी तथा प्राविधिकहरू सम्पर्कविहीन भएका थिए। त्यसपछि नेपाली सेना, नेपाल विद्युत् प्राधिकरणलगायतका टोलीले सुरुङमा खोज तथा उद्धार अभियान सञ्चालन गर्दै आएका थिए।
लामो समयदेखि सुरुङभित्र फसेका दुई कर्मचारीको जीवित उद्धार भएपछि अन्य सुरुङमा फसेका व्यक्तिहरूको उद्धार हुने आशा थप बलियो भएको छ। उद्धार टोलीले अन्य सम्भावित जीवित व्यक्तिको खोजी तथा उद्धार कार्यलाई समेत निरन्तरता दिइरहेको छ।






प्रतिक्रिया राख्नुहोस्