बाढी-पहिरोका कारण ६२० मेगावाट बिजुली प्रणाली बाहिर

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले अविरल वर्षापछि आएको बाढीपहिरो तथा भोटेकोशी बाढीका कारण विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा क्षति पुग्दा करिब ६ सय २० मेगावाट बिजुली प्रणालीबाट बाहिरिएको जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले असोज ९ को बाढीपहिरोका कारण १ सय ९० र भोटेकोशी बाढीका कारण ४ सय ३० गरी ६ सय २० मेगावाट बिजुली राष्ट्रिय प्रणाली बाहिर रहेको जानकारी दिनुभयो ।
अविरल वर्षाका कारण विभिन्न विद्युत् संरचनामा क्षति पुग्दा केही विद्युत् उत्पादन केन्द्र आकस्मिक रूपमा बन्द भएका छन् । प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार सहायक कम्पनीमार्फत प्रवद्र्धित राहुघाट जलविद्युत् आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको छ ।
टर्बाइन फ्लोरमा पानी पसेकाले सरसफाइपछि आयोजना सञ्चालनमा आउन करिब १० दिन लाग्ने अनुमान गरिएको छ । दाना–कुस्मा प्रसारण लाइनमा क्षति पुगेका कारण सातवटा जलविद्युत् आयोजना गरी कुल १९० मेगावाट विद्युत् प्रसारण हुन सकेको छैन । प्रणालीबाट बाहिर रहेका आठवटा विद्युत् आयोजनाको कुल क्षमता २३० मेगावाट रहेको छ ।
प्राधिकरणका अनुसार कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी दाना–कुस्मा प्रसारण लाइनको म्याग्दीस्थित टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ । यसैबीच, गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘बी’ को २२० केभी हबमा पुगेको क्षति तथा विभिन्न जलविद्युत् आयोजनामा भएको क्षतिका कारण ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको प्राधिकरणले जनाएको छ ।
बाढीबाट नेपाल विद्युत् प्राधिकरण तथा उसका सहायक कम्पनीका विद्युत् उत्पादन, प्रसारण र वितरण संरचनामा करिब ७४ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ ।।






प्रतिक्रिया राख्नुहोस्