प्रविधिको उच्चतम प्रयोगसँगै पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर-राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्ने बताउनुभएको छ ।
ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले भन्नुभयो, “ज्ञान र सीपसँगै नैतिकता, अनुशासन, सिर्जनशीलता, सहकार्य, करुणा र सामाजिक उत्तरदायित्व भएका नागरिक निर्माण गर्नु आजको शिक्षाको प्रमुख दायित्व हो ।” उहाँले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका निम्ति स्वदेशमै उत्पादनशील रोजगारीको अवस्था सिर्जना गरी हरेक नागरिकमा देशभक्तिको भावना अभिवृद्धि गर्ने शिक्षा प्रदानमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
“शिक्षा व्यक्तिको ज्ञान, विवेक, चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम हो, त्यसैले शिक्षाले व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बनाउन सघाउने हुनुपर्छ, नेपाल विभिन्न भाषा, संस्कृति, परम्परा र जीवन पद्धतिले समृद्ध देश हो, हामीले दिने शिक्षाले देशको यो भिन्नतालाई सम्मान गर्दै विद्यार्थीमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहअस्तित्वको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु सम्भव छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
कुनै पनि शैक्षिक संस्थाका लागि निरन्तरता, प्रतिबद्धता, सेवा र योगदानको इतिहास भएको बताउँदै राष्ट्रपति पौडेलले ज्ञानको उज्यालो ज्योति छर्ने जेभियर्स स्कुलको जीवन्तयात्रा, अनुशासन, संस्कार, सेवा, जिम्मेवारी र मानवीय मूल्यलाई शिक्षाको एक अभिन्न अङ्गका रूपमा अघि बढाएको एउटा गौरवमय इतिहास हो भन्नुभयो । नेपालको शैक्षिक विकासमा यस विद्यालयले पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले यहाँबाट शिक्षित विद्यार्थीहरूले देश तथा विदेशका विभिन्न क्षेत्रमा पुर्याउँदै आएको योगदान उत्तिकै अनुकरणीय रहेको बताउनुभयो ।
शिक्षाको वास्तविक उद्देश्य केवल परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाणपत्र हासिल गर्नुमा सीमित हुँदैन भन्नुहुँदै राष्ट्रपति पौडेलले परिवर्तनशील समयसँगै हाम्रा आधारभूत मानवीय मूल्यहरू अझ सुदृढ हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । “सूचना प्रविधिको द्रुत विकास भएको आधुनिक युगमा हामी कस्तो राष्ट्र नेपाल निर्माण गर्न चाहन्छौँ र भोलिका लागि कस्तो जनशक्ति आवश्यक पर्छ भन्ने प्रश्नको उत्तर पनि हाम्रो शैक्षिक प्रणालीले पहिल्याउनुपर्छ”, उहाँले भन्नुभयो ।
आगामी दिनमा यस स्कुलले शिक्षाका माध्यमबाट नागरिकको सर्वाङ्गीण विकास र राष्ट्र निर्माणमा अझ प्रभावकारी ढङ्गले योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्