विद्या भण्डारीले लिनुभयो एमाले वरिष्ठ नेताको शपथ

काठमाडौं -नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको वरिष्ठ नेताको शपथ लिनुभएको छ।

पार्टी मुख्यालय च्यासलमा जारी ११औँ महाधिवेशनपछि गठित स्थायी कमिटीको पहिलो बैठक सुरु हुनुअघि अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई वरिष्ठ नेताको शपथ गराउनुभएको हो।

एमालेको केन्द्रीय कमिटी बैठकले उहाँलाई वरिष्ठ नेतामा मनोनीत गर्ने निर्णय गरेको थियो। मनोनीत भएपछि उहाँ आज पहिलोपटक पार्टीको औपचारिक बैठकमा सहभागी हुनुभएको हो।

भण्डारीले लामो समयदेखि नेकपा (एमाले) को राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्नुभएको छ। उहाँ अखिल नेपाल महिला संघको अध्यक्ष हुँदै एमालेको उपाध्यक्षसमेत बन्नुभएको थियो। उहाँले पार्टी राजनीतिका क्रममा वातावरण तथा जनसंख्यामन्त्री र रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो।

वि.सं. २०७२ सालमा राष्ट्रपति निर्वाचित हुनुभएकी भण्डारीले दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुभएको थियो। उहाँ नेपालको पहिलो महिला राष्ट्रपति हुनुहुन्छ। राष्ट्रपति पदमा रहँदा उहाँले पार्टीको सक्रिय जिम्मेवारीबाट अलग रहनुभएको थियो।

राष्ट्रपति पदबाट अवकाश पाएपछि भण्डारी पुनः एमालेको राजनीतिमा सक्रिय हुनुभएको हो। अहिले पार्टीले उहाँलाई वरिष्ठ नेताको जिम्मेवारी दिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.