आज नवरात्रको नवौ दिन तिथि वृद्धिका कारण महाअष्टमी
काठमाडौँ- आज नवरात्रको नवौ दिन भए पनि तिथि वृद्धिका कारण महाअष्टमीकै कर्म गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेको छ ।
समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ । कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म २ गते पनि दशैँ घर वा पूजा कोठामा दोहोर्याउनु पर्ने समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।
दशैँ घर पूजा कोठामा आज पनि नव दुर्गामध्येकी आठौँ देवी महागौरीकै पूजा आराधना गर्नुपर्छ । अन्य कर्म पनि महाअष्टमीकै दिनमा गरेका कर्मलाई दोहोेर्याउनुपर्ने बताइएको छ । आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गते राति नै गर्नुपर्ने पनि समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ ।
अष्टमी दुई दिन भएकाले यस वर्ष नवरात्र पनि दशरात्र बन्न पुगेको छ । विजयादशमीका दिनमा टीका लगाउँदा १० रात्रिका जमरा लगाइने भएको छ । देवीको साधना एवं पूजा, आराधना गर्न एक दिन बढ्दा केही फरक नपर्ने धर्मशास्त्रविद्हरुको भनाइ छ । आज पनि देशभरका शक्तिपिठहरुमा नवदुर्गाको पूजा आराधनाका लागि भक्तजनको घुइँचो लागेको छ ।
यसै गरी राज्यका तर्फबाट हनुमानढोकामा गरिने कालरात्रि पूजा भने समितिसँगको परामर्श र तलेजुका पुजारीले गर्ने परम्पराअनुसार आज राति गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिनुभयो । हनुमानढोका दरबारमा महाअष्टमीको कर्म गरेपछि लगत्तै अर्को दिनमा महानवमीको पूजा, आराधनालगायत कर्म गर्ने परम्परा रहेकाले यस्तो निर्णय गरिएको जानकारी पनि उहाँले दिनुभयो ।।






प्रतिक्रिया राख्नुहोस्