सुनसान राजधानी, ६ लाखले छाडे काठमाडौँ

काठमाडौँ- बडादसैँ मनाउन संघीय राजधानी काठमाडौँबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै जाँदा काठमाण्डौँ उपत्यका भने सुनसान बन्दै गएको छ ।
दसैँ नेपालीहरूको प्रमुख सांस्कृतिक तथा पारिवारिक पर्व भएकाले यस अवसरमा देशका विभिन्न भागमा रहेका नागरिक आफ्नो घर फर्किने गर्छन् ।
उपत्यकामा अध्ययन, रोजगारी र व्यवसायका लागि बसोबास गर्दै आएका नागरिक गाउँघर फर्किन थालेसँगै काठमाडौँका भित्रि सडक तथा बजार भने सुनसान भएका हुन ।
घटस्थापनादेखि आज बिहानसम्म करिब ६ लाख जनाले काठमाडौँ उपत्यका छाडेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँ मनाउन घर फर्किने क्रमसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्दै गएको छ ।
भोलि विजया दशमीको टीका भएकोले मान्यजनका हातबाट टीका थाप्न आज साँझ अबेरसम्म पनि बसपार्क र उपत्यकाका सीमा नाकाहरुमा आफ्नो थातथलो फर्कनेहरुको भिडभाड देखिएको छ ।।






प्रतिक्रिया राख्नुहोस्