विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विपद्का बेला सञ्चार सेवा अवरुद्ध हुन नदिन उत्थानशील सञ्चार पूर्वाधार निर्माण र अन्तरराष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

कतारको दोहास्थित दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्र (डिइसीसी) मा जारी अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) को सन् २०२६ को पूर्णाधिकार सम्मेलन (पीपी–२६) अन्तर्गत आज आयोजित उच्चस्तरीय विषयगत छलफलमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँले नेपालको हालैको बाढीपहिरोबाट सञ्चार पूर्वाधारमा पुगेको क्षतिबारे जानकारी गराउनुभएको हो ।

मन्त्री तिमिल्सिनाले भोटेकोशी–त्रिशूली नदी करिडोरमा आएको विनाशकारी आकस्मिक बाढीले जनधनको क्षति गर्नुका साथै महत्त्वपूर्ण सञ्चार पूर्वाधारमा क्षति पुर्‍याउँदा देशका विभिन्न क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएको बताउनुभयो ।

उहाँले विपद् प्रतिरोधी सञ्चार पूर्वाधार निर्माणका लागि यसअघि गरिएका प्रतिबद्धतालाई मापनयोग्य कार्यमा रूपान्तरण गर्ने, उत्थानशील सञ्चार सेवामा सबैको पहुँच सुनिश्चित गर्न आर्थिक रूपमा सहज बनाउने तथा अन्तरराष्ट्रिय सहकार्यलाई थप सुदृढ गर्ने प्रस्ताव गर्नुभयो ।

सम्मेलनका अवसरमा मन्त्री तिमिल्सिनाले मलेसियाका सञ्चारमन्त्री दातुक सेरी फहमी फाजिलसँग द्विपक्षीय भेटवार्ता पनि गर्नुभएको छ । भेटमा उहाँले समावेशी र विश्वसनीय डिजिटल पारिस्थितिक प्रणाली निर्माण गर्दै नेपालले डिजिटल रूपान्तरणलाई तीव्रता दिन गरिरहेका प्रयासबारे जानकारी गराउनुभयो ।

दुवै पक्षबीच डिजिटल कनेक्टिभिटी विस्तार, क्षमता अभिवृद्धि, डिजिटल विश्वासको वातावरण निर्माण तथा बहुपक्षीय मञ्चमा सहकार्य बढाउने विषयमा छलफल भएको थियो ।

मन्त्री तिमिल्सिनाले सम्मेलनको पूर्णसत्रलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको दोहास्थित नेपाली राजदूतावासले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.