सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा ब्यापक छलफल र सहमति आवश्यक

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा ब्यापक छलफल र सहमति आवश्यक रहेको बताउनुभएको छ ।
पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले आजदेखि सुरु गर्नुभएको मेची–महाकाली पदयात्राको शुभारम्भ गर्दै सभापति लामिछानेले सङ्घीय संरचनालाई व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउन रास्वपाले राष्ट्रिय बहस अघि बढाउने तयारी गरिरहेको बताउनुभयो ।
सङ्घीयताको मर्मअनुसार प्रदेश संरचनालाई थप व्यवस्थित तुल्याउँदै तीनै तहका सरकारलाई अधिकार सम्पन्न र जिम्मेवार बनाउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
त्यस अवसरमा पदयात्रा अभियन्ता सिंहले मुलुकमा सामाजिक सद्भाव कायम राख्ने, राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने र आम नागरिकले भोगिरहेका समस्यालाई नजिकबाट बुझ्ने उद्देश्यले मेची–महाकाली पदयात्रा सुरु गरेको बताउनुभयो ।
जानकी मन्दिरबाट सुरु भएको यात्राका क्रममा मधेससहित देशका विभिन्न भू–भागका नागरिकसँग प्रत्यक्ष संवाद र अन्तरक्रिया गरिने जानकारी दिइएको छ ।।






प्रतिक्रिया राख्नुहोस्